सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्या मुद्दामा जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका लोसपाका निलम्बित प्रदेश सांसद अभिराम शर्माको मुद्दाको पेस आज तोकिएको छ । यो मुद्दामा १३औं पटक पेसी तोकिएको हो ।
उच्च अदालत जनकपुरमा न्यायाधीशद्वय गीताप्रसाद तिम्सिना र राजुराम सिलवालको संयुक्त इजलासमा यो मुद्दा परेको छ ।०७२ भदौ २५ मा भएको हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका सांसद शर्माको तर्फबाट उनका पिता महेन्द्र शर्माले २०८१ वैशाख ९ गते उच्च अदालतमा मुद्दा दर्ता गरेका थिए। तर, यो मुद्दा पटकपटक स्थगित हुँदै आएको छ ।
पेसी स्थगित हुने घटनाले कानूनी व्यवसायीहरूबीच सामान्य सेटिङ नमिलेका हुनसक्ने आरोप लाग्ने गरेको छ ।यसअघि २०८१ पुस १७ मा महेन्द्रनाथ उपाध्याय र ध्रुव कुमार पियाको संयुक्त इजलासमा पेसी परेपनि हेर्ने नभ्याइनेमा परेको थियो ।
मुद्दा सुनुवाइका क्रममा ६ पटक विभिन्न कानूनी कारण, दुईपटक अन्य कारण र केही पटक मुद्दा साथै राख्नुपर्ने अवस्था सिर्जना हुँदा पेसी स्थगित भएको थियो ।
महोत्तरी जिल्ला अदालतले २०८० मंसिर २८ मा नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई सफाइ दिए पनि अभिराम शर्मालाई न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले जन्मकैदको सजाय सुनाएको थियो। सोही इजलासले प्रदीप साह, सञ्जयकुमार साह, मोहन ठाकुर, रामाशंकर मिश्र, सुरेन्द्र पाण्डे र धर्मेन्द्र रायसहित सात जनालाई पनि जन्मकैदको फैसला सुनाएको थियो।
२०७२ फागुन २७ मा महोत्तरी जिल्ला अदालतमा यो मुद्दामा २८ जनाविरुद्ध कर्तव्य ज्यान र २५ जनाविरुद्ध आगजनीको मुद्दा दर्ता गरिएको थियो ।