सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार मन्त्रालयमा स्वार्थ समूहको हाबी हुँदा कानून बनाउन समस्या भएको बताउनुभएको छ ।
बिहीवार मिडिया एड्भोकेसी ग्रुपले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो । मन्त्री शर्माले सञ्चार मन्त्रालयमा धेरै स्वार्थ समूहहरु भएकाले कानून निर्माणमा समस्या भएको बताउनु भयो । उहाँले साइबर ऐन तथा सूचना सम्बन्धि विधेयक बनाउन विभिन्न स्वार्थ समूहको कारण अहिलेसम्म टुङ्गो लाग्न नसकेको बताउनु भयो । उहाँले मन्त्रालयमा कुनै एउटा विषयमा कानून बनाउन छलफल शुरु हुने बित्तिकै विधेयकको सानो अंक बाहिर झिकेर कानूनको अपव्याख्या शुरु गरेको बताउनु भयो । उहाँले कानूनको अपव्याख्या र खरो रुपमा प्रहार गर्ने गरिएको भन्दै मन्त्रालयमा बसेर कानून बनाउन नसक्ने भन्ने अवस्था बनाउने गरेको दाबी गर्नुभयो। उहाँले सरकारले ल्याउन लागेको सूचना सम्बन्धित विधेयकमा सामाजिक सञ्जाल सम्बन्धि ऐन पनि समेटिएकाले उक्त कानूनको विषयमा छलफल गर्दा सबैको फोन ट्यापिङ भइसक्यो भन्ने रुपमा बाहिर हल्ला गरिएको बताउनु भयो। उहाँले उक्त कानून बनाउन स्वार्थ समूहको कारण अगाडि बढाउन नसकेकाले थन्काएर राखिएको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘पहिला पनि सामान्य काम भएको हो । त्यहाँ यति धेरै इन्टेष्ट ग्रुप स्वास्र्थ समूहरु हुने थिएन । त्यहाँ कानून बनाउँदा कर्मचारीको स्वार्थ हुने थियो । तर सञ्चार मन्त्रालयमा यति धेरै प्रकारका स्वार्थ समूहहरु हुँदा रहेछन् । एउटा कानून बनाउन थाल्यो भने स्वच्छ मनले काम गर्न खोज्यो कहीँ कही त्यो कानूनले कसैलाई छाई हाल्दो रहेछ । कसलाई छोयो भन्ने थाहा हुँदैन । त्यसको एउटा अंश झिकेर बनाउन लागेको कानूनलाई अपव्याख्या गरेर अर्कै ढङ्गले प्रहार हुन्छ । त्यो प्रहारले सञ्चार मन्त्रालयले कानून बनाउन सकिँदैन भन्ने जस्तो फिल हुन्छ । सूचना सम्बन्धि विधेयकमा सामाजिक सञ्जालसम्बन्धि ऐन समेटिएको रहेछ । त्यो कानूनको विषयमा मन्त्रालयले छलफल मात्रै के गरेको थियो । सबैको फोन ट्यापिङ भइसक्यो भन्ने ढङ्गले बाहिर छलफल भयो । त्यसलाई कानून बनाउन नकेर थन्काएका छौं । फेरि एक पटक स्टेकहोल्डरहरुसँग बसेर छलफल गरेर मात्रै अगाडि बढाउनु पर्छ । कानून बनाउन यस्ता धेरै समस्याहरु छन् । स्टेक होल्डरहरुसँग के आवश्यक हो कहाँ के लेख्ने भनेर छलफल गर्ने प्रयासमा रहेका छौं । एउटा एउटा विषयमा छलफल गरे ऐन पास गरेर जाने विषयमा छलफल गरेका छौं ।’
मन्त्री शर्माले सामाजिक सञ्जाल नियमन ऐनका विषयमा एक पटक स्टेक होल्डरहरुसँग बसेर छलफल गरेर मात्रै अगाडि बढाउने बताउनु भयो । उहाँले मन्त्रालयले कानून बनाउन विभिन्न समस्या झेलिरहेको बताउनु भयो । उहाँले मन्त्रालयले छुट्टाछुटै विषयमा विधेयक ल्याएर कानून बनाउने तयारी गर्न आवश्यक देखिएको बताउनु भयो ।