शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले राष्ट्रको सोचलाई उत्पादनमुखी दिशामा लैजान आवश्यक रहेको बताउनुभएको छ ।
शनिवार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अरुको खुट्टा तान्ने काममा धेरै व्यस्त भएर मुलुक सम्पन्न नबन्ने बताउनु भयो । उहाँले सरकारमा बसेका मन्त्रीहरुको सोचले मात्रै देश परिवर्तन गर्न सम्भव नहुने भन्दै राष्ट्रको सोचलाई उत्पादनमुखी, उद्योगमुखी र श्रममुखी दिशामा लैजान आवश्यक रहेको बताउनु भयो । उहाँले निर्यात गर्न नसके पनि नेपालले आयात मात्रै प्रतिष्थापन गरे पनि सपन्नताको सुनिश्चितता हुने दाबी गर्नुभयो । उहाँले मुलुक २५ जना मन्त्री र ५÷७ वटा राजनीतिक दलहरुले मात्रै बनाएर नबन्ने भन्दै तीन करोड नेपालीका ६ करोड हातहरु संयमित रुपमा क्रियाशिल हुनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले निर्यात गर्न नसकौँला तर आयात मात्रै प्रतिस्थापन गर्यौं भनेपनि हाम्रो सम्पन्नताको ग्यारेन्टी हुन्छ । त्यसतर्फ हामी सबैले सोच्नुपर्छ । यो खालि सरकारमा बसेका दुई चार जना मन्त्रीले मात्रै सोचेर हुनेकुरा होइन । राष्ट्रको सोचलाई नै उत्पादनमुखी दिशामा लैजानुपर्छ । उद्योगमुखी दिशामा लैजानुपर्छ । श्रममुखी दिशामा लैजानुपर्छ । अरुको खुट्टा तान्ने काममा धेरै व्यस्त भयौँ भने मुलुक बन्दैन । मुलुक २५ जना मन्त्रीले मात्रै बनाएर बन्ने होइन । यो ५÷७ वटा पार्टीले मात्रै बनाएर बन्ने होइन, तीन करोड नेपालीका ६ करोड हातहरु संयमित रुपमा क्रियाशिल हुनुपर्छ ।’मन्त्री राईले सबैको सेच एउटै दिशामा अघि बढे देश विकास हुन समय नलाग्ने बताउनु भयो ।
—न्युज एजेन्सी नेपाल