त्रिशूली । नुवाकोटको तारुकामा यस वर्ष २८ हल गोरु जुधाइने भएको छ। तारकेश्वर गाउँपालिका–३ तारुका, चन्दनीस्थित कटहरबोट पाटोमा हरेक वर्ष जस्तै यो वर्ष माघेसङ्क्रान्ति मेलाको अवसरमा जुधाउन २८ हल गोरु दर्ता भएको ‘माघे सङ्क्रान्ति गोरु जुधाइ महोत्सव’ व्यवस्थापन समितिका अध्यक्ष मदन श्रेष्ठले जानकारी दिनुभयाे।
उहाँका अनुसार समितिले किसानलाई यही पुस २३ गतेसम्म दर्ता गर्न जारी गरेको सूचनाअनुसार २८ हल गोरु जुधाउन दर्ता भएका छन्। अघिल्ला वर्षजस्तै यस वर्ष आगामी माघ १ गतेसहित माघ २ गतेसमेत गोरु जुधाउन लागिएको छ। यस वर्ष गोरु जुधाइ मेलालाई ‘महोत्सव’का रूपमा सञ्चालन गर्न लागिएको समितिका सचिव अमित अधिकारीले जानकारी दिनुभयाे। गोरु जुधाइ प्रतिस्पर्धालाई व्यवस्थित, आकर्षक, रोचक र थप मनोरञ्जनात्मक गतिविधिसमेत संलग्न गराइने भएकाले यस वर्ष दुई दिन गोरु जुधाउन लागिएको हो।
'अघिल्ला वर्ष मेलाका रूपमा मनाइने गरिएको भए पनि यो वर्ष महोत्सवका रूपमा दुई दिन मनाउन लागिएको छ', उहाँले भन्नुभयाे, 'गोरुलाई समय निर्धारण नगरी जुधेसम्म जुधाइने छ भने राष्ट्रिय तथा स्थानीय कलाकारमार्फत लोकदोहोरीलगायतका अन्य मनोरञ्जनका गतिविधिसमेत समावेश गराउन लागिएको छ।'
माघे सङ्क्रान्तिको अवसरमा जुधाउन दर्ता भएका गोरुलाई एकले अर्कोसँग (वान भर्सेज वान) प्रतिस्पर्धा गराउन लागिएको छ। प्रतिस्पर्धामा विजेता हुने गोरु, धेरै समयसम्म जुध्ने गोरु, उत्कृष्ट प्रस्तुतिका साथ जुध्ने गोरुलगायतका शीर्षकमा गोरुधनी किसानलाई नगदसहित सम्मान गरिने आयोजकले जनाएको छ।
तत्कालीन बझाङ्गी राजा विक्रमबहादुर सिंहको छोरा जयपृथ्वीबहादुर सिंह नुवाकोटको तारुकास्थित मामाघरमा आएको समयमा वि सं १८८७ मा पहिलोपटक गोरु जुधाएर रमाइलो देखाइएको थियो भन्ने यहाँका बूढापाका बताउँछन्। त्यसलाई हरेक वर्ष माघेसङ्क्रान्तिको दिन निरन्तरता दिँदै आएकाले तारुकाको गोरु जुधाइको इतिहास झण्डै दुई सय वर्ष अगाडिदेखिलाई संरक्षण गरिएको हो। किसानले स्वतःस्फूर्त रूपमा जुधाउँदै आएको गोरुलाई एकीकृत गरेर व्यवस्थित भने विसं २०६२ देखि समितिमार्फत नेतृत्व लिइएको हो।
गोरु जुधाउन आधुनिकता भित्रन नदिइ मौलिकपन कायम राखेर परम्पराको निरन्तरता, माघेसङ्क्रान्तिको अवसर जुधाइने भएकाले संस्कृतिको संरक्षणमा समेत निरन्तरता दिइएको छ। किसानले गोरु जोत्न छाडेर ट्र्याक्टरको प्रयोगले गाउँमा गोरु देख्न छाडिसके। तर जुधाउनलाई भनेर तारुका (तारकेश्वर)का किसानले जुरो पलाउने स्थानीय जातका गोरु पाल्ने, त्यसलाई खुराक खुवाएर प्रतिस्पर्धा गराउने, बारीको खुला पाटोमा हजारौँ दर्शकको बीचमा गोरु जुधाइको चलनलाई जोगाउँदै आइरहेको स्थानीय ९० वर्षीय झमबहादुर प्रधानले बताउनुभयाे।
'ट्र्याक्टर प्रयोग गर्नेलाई अनुदान दिइन्छ। गोरु पाल्ने किसानलाई केही छैन ?', प्रधानले गुनासो गरे, 'तारुको गोरु जुधाइ बचाउन हामी किसानले आधापेट खाएर भए पनि खुराक खुवाएर पालिएका गोरुलाई जुधाएर परम्परा जोगाएका छौँ।'
रासस