लमजुङ । कृषि र पशु विज्ञान अध्ययन संस्थान, लमजुङ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको माहोल तातेको छ। यसै क्रममा, नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट सभापति पदका लागि असिम वस्तीले उम्मेदवारी घोषणा गर्नुभएकाे छ। निवर्तमान सभापति रहेका वस्तीले आफ्नो अनुभवलाई आधार मानेर विद्यार्थीहरूको हकहितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ। उहाँका अनुसार, क्याम्पसभित्र देखिएका अनियमितता र विद्यार्थी समस्याहरूको सामना गर्दै आएका उहाँले ती बेथितिहरू सुधार गर्न अझ प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनुभएकाे छ।
उम्मेदवारी घोषणासँगै, उहाँले क्याम्पसका विद्यार्थीहरूलाई सर्वाङ्गीण अधिकारको सुनिश्चितता दिने, उनीहरूको व्यक्तित्व र नेतृत्व क्षमताको अभिवृद्धि गर्ने योजना अघि सार्नुभएकाे छ। स्थानीय भएकाले बाल्यकालदेखि नै क्याम्पसका समस्यासँग परिचित रहेको उल्लेख गर्दै उहाँले समय सान्दर्भिक सुधारका लागि ठोस कदम चाल्ने बताउनुभएकाे छ। "हामी विद्यार्थीका समस्याको समाधानका लागि जिम्मेवार छौँ। समय सापेक्ष सुधार गर्दै क्याम्पसमा अनुशासन, पारदर्शिता र विद्यार्थी हितका नीतिहरू लागू गर्ने हाम्रो लक्ष्य छ," वस्तीले भन्नुभयाे।

''विपक्षी गठबन्धनको असफल प्रयास, नेविसंघप्रति विद्यार्थीहरूको भरोसा''
स्ववियु निर्वाचनमा प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। असिम वस्तीको उम्मेदवारविरुद्ध अखिल (नेकपा एमालेनिकट) र अखिल क्रान्तिकारी (माओवादी केन्द्रनिकट) बीच एकता भएको छ। दुबै संगठनबीच तालमेल भई संयुक्त उम्मेदवार खडा भए पनि विद्यार्थीहरूबीच यसको प्रभाव पर्न सकेको छैन। विगतका अनुभवले स्पष्ट देखाएको छ कि अखिल र अखिल क्रान्तिकारी विद्यार्थीहरूको हितभन्दा संगठनका राजनीतिक स्वार्थमा केन्द्रित हुने प्रवृत्तिका कारण उनीहरूप्रति विद्यार्थीहरूको विश्वास कमजोर छ।
आन्तरिक विवादले ग्रस्त यी संगठनहरूले समय-समयमा विद्यार्थीलाई प्रयोग गर्ने प्रवृत्ति देखाएका कारण यो गठबन्धन केवल कागजी सहमति मात्र बन्न पुगेको बताइएको छ। यसको विपरीत, नेविसंघले सदैव विद्यार्थीका मुद्दालाई प्राथमिकतामा राख्दै व्यवहारिक रूपमा काम गर्दै आएको छ। यही कारणले गर्दा, अखिल र अखिल क्रान्तिकारीको एकता भए तापनि नेविसंघको माहोल अत्यन्त राम्रो देखिएको स्रोतको दावि छ। सम्पुर्ण विद्यार्थीहरुको विश्वास नेविसंघलाई प्राप्त छ, जसले यो निर्वाचनमा अझ बलियो उपस्थिति जनाउने संकेत गरेको छ। विद्यार्थीहरूलाई मताधिकार प्रयोग गर्न आग्रह असिम वस्तीले सम्पूर्ण विद्यार्थीहरूलाई आफ्नो अमूल्य मताधिकार प्रयोग गरेर नेविसंघ प्यानललाई निर्वाचित गर्न आग्रह गर्नुभएकाे छ।
उहाँले विद्यार्थी हकहितको रक्षा गर्न नेविसंघ सशक्त रूपमा प्रस्तुत हुने विश्वास दिलाउँदै भन्नुभयाे, "तपाईंहरूको साथ र विश्वास पाएमा क्याम्पसको शैक्षिक वातावरण सुधार्ने अभियानमा निरन्तर लागिरहनेछु। " स्ववियु निर्वाचन नजिकिँदै गर्दा विद्यार्थी संगठनहरूबीचको प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ। तथापि, नेविसंघको मजबुत संगठन, प्रभावकारी नेतृत्व र विद्यार्थीबीचको लोकप्रियता का कारण यो चुनाव नेविसंघकै पक्षमा जाने संकेत देखिएको छ। अब विद्यार्थीहरूले गर्ने निर्णयले क्याम्पसको भविष्य कसको हातमा जानेछ भन्ने तय गर्नेछ।