पोखरा । सञ्चारकर्मी अच्युत घिमिरेको ‘श्रुतिसंवेग’मा एकपटक लगातार इमेल आउन थाल्यो, ‘समर लभ पढिदिनुपर्यो।’लगातार इमेल आइसकेपछि उहाँले सुविन भट्टराईको ‘समर लभ’ पढ्नुभयाे। यति धेरै प्रतिक्रिया आउन थाल्यो उहाँ चकित पर्नुभयाे। एकैपटक ४ हजार स्रोताले रेडियो सुन्न थाले।
उही चर्चित लेखक सुविनसँग भेट्ने समय मिलाए। ‘भेट्दा मलाई उहाँ सुविन हैन जस्तो लाग्यो। यति चर्चित मान्छे, तर यति सरल,’अच्युतले सुनाउनुभयाे। ठूलो युवा जमातमा पठनसंस्कृति बढाउने लोकप्रिय लेखक सुविनसँग जमिरहनुभएकाे थियाे सञ्चारकर्मी घिमिरे। पोखरामा जारी १०औं नेपाल लिट्रेचर फेस्टिभलको एउटा सेसन थियो, ‘कथाकी पात्रदेखि इजोरियासम्म।’
केही महिनाअघिमात्र सुविनको नयाँ उपन्यास ‘इजोरिया’ बजारमा आयो। सुविनका अनुसार उक्त पुस्तक हालसम्म ६० हजार प्रति छापिइसक्यो। त्यो बजारमा सकिन लागेको संकेत पाउनुभएकाे छ उहाँले। प्रिय सुफीसम्म’ प्रेम कथा लेख्नुभएका सुविनलाई यसपटक प्रेमकथादेखि दिक्क लागेको थियो। प्रेमदेखि मा हैन लोकेशनदेखि पनि। उहाँले सहरी युवाको प्रेमका विषयलाई कथा बनाउँनु हुन्थ्याे। यसपटक उहाँले लोकेशन मधेश रोज्नुभयाे र मधेशका पात्रका कथा भन्नुभयाे। उहाँकै
भाषामा भन्ने हो भने यसपालि सुविनले ‘स्टेयरिङ’ घुमाउनुभयाे।
‘इजोरियासम्म आइपुग्दा लेखक एउटा मात्र जोनमा बस्ने कि नबसने प्रश्न जान्छ। काठमाडौं छाडेर मधेश जाने बित्तिकै लेखकका टाउको दुखाइ हराए। गर्नका लागि गरेको भन्दा नि रियल्ली इन्जोय गरेँ। जिन्दगीमा नयाँ कुरा सिक्ने मौका पाएँ,’ सुविन भन्नुहुन्छ।
इजोरियाबाट उहाँले मधेशमा ठूलो संख्यामा पाठक बढाएको बताउँनुहुन्छ। उहाँका अनुसार इजोरिया कहिल्यै नेपाली साहित्य
नपुगेको ठाउँमा इजोरिया लगेर राखियो।
घिमिरेले सुविनबारे थप कुरा भन्नुभयाे,‘उहाँको लेख्ने बाहेक अरु कुनै काम छैन। लेखेरै बाँच्नुभएकाे छ, त्यो पनि कार चढेर,’ घिमिरेले भन्नुभयाे। र उही घिमिरेले सुविनलाई सोध्नुभयाे, ‘तपाईंलाई सन्तुष्टिचाहिँ कतिबेला हुन्छ?’उहाँ लेखनका विभिन्न तह सम्झनुहुन्छ। ‘लेखनको सन्तुष्ट आफ्नू छ। लेखेका कुरासँग आफू कति विश्वस्थ हुनसक्नुहुन्छ? पाठकको तहसम्म जाने अर्को लेखाइ हुन्छ। जब पाठकले राम्रो भन्छ सन्तुष्टिको अर्को तह निर्माण हुन्छ,’ सुविन भन्नुहुन्छ।
अच्युतले आफ्नो पब्लिकसनमा सय वटा पाण्डुलिपीमा ५० वटा सविनै प्याट्रनका उपन्यास आउने बताउँनुहुन्छ। उहाँ सोध्नुहुन्छ,
‘सुरुमा लेखक बन्न सजिलो छ?’ सुविन सुरुवाती दिनमा कथा लेख्दा र प्रकाशन गर्न ब्यहोर्नुपरेको सास्ती सम्झनुहुन्छ। ‘कथाकी पात्र’ उहाँले फरक फरक समयमा लेखेर संग्रहण गरेका कथा संग्रह हो। यो प्रकाशन गर्नुअघि आफूले झोलामा पाण्डुलिपी हालेर हिँडेको सम्झनुहुन्छ।
प्रकाशक नभेटेपछि उहाँले आफ्नै लगानीमा पुस्तक प्रकाशन गर्नुभएकाे थियाे। ‘कथाकी पात्र’ले पाठक आकर्षित गरेर ‘समर लभ’ले प्रकाशक पायो। अहिले उहाँलाई धेरैले त ‘समर लभ’कै लेखक भनेर चिन्छन्। अहिले सुविनलाई धेरै नयाँ पुस्ताले पाण्डुलिपी पढिदिनु भनेर पठाउँछन्। ‘पहिले म झोलामा पाण्डुलिपी बोकेर पढिदिनुस् न भन्थें। म त्यो सम्झन्छु। अनि दराजबाट
पाण्डुलिपी निकालेर पढ्छु,’ उहाँ भन्नुहुन्छ। ‘अरुले जीवनभर लेखेको किताब हिट नहुने। तपाईंले फ्याफ्याट लेखेको किताब हिट हुन्छ। यसको जादू के छ?’ अच्युतको जिज्ञासामा उहाँ भन्नुहुन्छ, ‘पाठकको विश्वास, सरल भाषा शैलीले हो।’ उहाँ नयाँ पुस्ताबाट पनि धेरै सिकिरहेको बताउँनुहुन्छ।