उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले बैंकको ब्याजदर घटाउन प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको छ ।
मंगलवार उद्योग वाणिज्य महासंघको ५७ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै यस्तो आग्रह गर्नुभएको हो । उहाँले अहिलेको आर्थिक अवस्था चुनौतिपूर्ण रहेको बताउनु भयो । उहाँले निजी क्षेत्रको सहयोग बिना मुलुकमा आर्थिक उन्नती हुन नसक्ने बताउनु भयो । उहाँले आर्थिक अवस्थालाई सुदृढ पार्न निजी क्षेत्रलाई सहयोग गर्न सरकार तयार रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको चुनातिपूर्ण समयमा छौँ, अहिलेको चुनौति सामना गर्ने कार्य समिति चयन हुनेछ भन्ने हामीलाइ विश्वास छ । आर्थिक अवस्था त्यति साह्रो राम्रो छैन, आयात, निर्यातमा त्यति साह्रो राम्रो छैन । तपाईहरुको सहयो बिना यो मुलुकले आर्थिक समृद्धि पाउन सक्दैन, नेपाल सरकार हरेक कुराको सहयोग गर्न तयार छ । धेरै समस्या छन्, समन्वयका कारण, नियमकानून पेचिलो लागेको हुनसक्छ, नीति तपाईहरुको पक्षमा छ की छैन त्यसमा गुनासो गर्नुभएको छ, त्यसमा सबैले मिलेर काम गर्नुपर्छ । हातेमालो गरेर अघि बढ्नुपर्ने समयको माग छ । म अर्थमन्त्री र प्रधानमन्त्रीज्युलाई भन्न चाहन्छु, मेरो पनि आग्रह छ, यो बैंकको इन्ट्रेस्ट रेट घटाउन प्रधानमन्त्रीज्युले विशेष पहल लिनुहुन्छ भन्ने आग्रह छ ।’
मन्त्री रिजालले मन्त्रालयबीचको समन्वय कम भएको भन्दै प्रधानमन्त्रीले यसको पहल लिन आग्रह गर्नुभयो । उहाँले स्वदेशी उत्पादनको प्रयोगलाई पहिलो प्राथमिकता दिने भनेपनि कार्यान्वयन हुन नसकेको बताउनु भयो ।