काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गर्नुभएको छ ।
शुक्रवार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा सांसद शर्माले सुन तस्करीको बारेमा छानबिनमा सघाउन उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग गर्नुभएको हो ।
उहाँले मन्त्रीद्वयले राजीनामा दिएर छानबिनमा सघाउनुपर्ने बताउनुभयो । अर्थमन्त्री र गृहमन्त्रीलाई सुन भित्रिएको जानकारी नहुनु र प्रधानमन्त्रीले समात्न लगाउने कुरा सरकारको काम कारबाहीसँग मिल्दोजुल्दो नभएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘क्विन्टल सुन भित्रिएको कुरा अर्थमन्त्री र गृहमन्त्रीले थाहा नपाउने, उहाँहरूको मातहतका निकायका मानिसले थाहा नपाउने र प्रधानमन्त्रीको कार्यालयले हस्तक्षेप गरेर सुन समातिएको देखिन्छ ।
देशमा क्विन्टल सुन भित्रिएको थाहा नपाउने अर्थमन्त्री र गृहमन्त्रीले नैतिकताका आधारमा अनुसन्धानको प्रक्रियालाई सहज बनाउन राजीनामा दिनुपर्छ कि पर्दैन रु यसमा पक्ष र विपक्षको कुरा रहँदैन । देश र नागरिकको कुरा हुन्छ ।
यहाँ पार्टीको पनि कुरा हुँदैन । गठबन्धनको भित्रको मान्छे भन्ने हुँदैन, यहाँ देश लुट्न कुनै पनि पार्टीको कुनै नेतालाई छुट छैन, त्यसैले दुई जना मन्त्रीले बाटो खुला गरेर तत्काल अनुसन्धानको विषयलाई सहज बनाइदिनुपर्छ र प्रधानमन्त्रीले चालेको कदममा सहज हुनुपर्छ ।’