सन् २०२४ मा फ्रान्सको पेरिसमा हुने गृष्मकालीन ओलम्पिकमा रसियालाई समावेश गरेमा युक्रेनले प्रतियोगिता बहिष्कार गर्ने घोषणा गरेको हो ।
युक्रेनका खेलमन्त्री वादिम गुत्सेतले पेरिस ओलम्पिकमा रुस अथवा बेलारुसका खेलाडीले खेलेको खण्डमा आफ्नो देशले प्रतिस्पर्धा नगर्ने बताउनुभएकाे छ ।
रसियन तथा बेलारसियन खेलाडीलाई कुनै पनि किसिमको अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन दिन नहुने उहाँको भनाइ छ । रसियाले युक्रेनमाथि गरेको आक्रमणलाई लिएर उहाँको यस्तो भनाइ आएको हो ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले रसियाका खेलाडीका लागि कुनै न कुनै तवरको मार्ग बनाउने भन्दै आइरहेको छ । ‘अहिले रसियन खेलाडीलाई खेल्न दिने प्रक्रियाहरु भइरहेको छ । यदि त्यो प्रक्रिया पूरा भएको खण्डमा हामी प्रतियोगिता बहिष्कार गछौं’, युक्रेन ओलम्पिक कमिटीका अध्यक्षसमेत रहेका गुत्सेतले भन्नुभयाे ।
रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोध जनाउँदै आईओसीले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा रुसका खेलाडीलाई प्रतिबन्ध लगाएको थियो ।
तर आईओसीले पछिल्लो समय रसियन पासपोर्ट भएकै कारण कुनै पनि खेलाडीलाई प्रतियोगिताबाट वञ्चित गर्न नहुने भन्दै उनीहरुलाई पनि खेल्न दिने बाटो खोजिरहेको छ ।