काठमाडौं l विहीबार काठमाडौंको बागबजारस्थित पद्मकन्या क्याम्पसमा स्ववियुको मतदान जारी छ । विवादका कारण चैत ५ गते हुन नसकेको स्ववियु निर्वाचन विहिबार बिहानदेखि मतदान सुरु भएको हो ।पद्मकन्यामा नेविसंघका दुई उम्मेदवार कायम रहेका छन् । नेविसंघको आधिकारिक उम्मेदवार पूर्णिमाया परियार र बागी उम्मेदवार भूपि ऐर रहेका छन् ।
परियारले नेविसंघबाट र ऐरले स्वतन्त्र समूह बनाएर उम्मेदवारी दर्ता गराएकी थिइन् । त्यसपछि निर्वाचन समितिले नेविसंघ केन्द्रीय कार्यालयलाई पत्र लेखेर आधिकारिक उम्मेदवारबारे सोधेको थियो । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले निर्वाचन समितिलाई पत्र लेखेर भूपि ऐर आधिकारिक उम्मेदवार भएको जवाफ दिएका थिए । तर, निर्वाचन समितिले पूर्णिमाया परियारलाई नै आधिकारिकताको मान्यता दिएको छ ।
परियार पार्टी सभापति शेरबहादुर देउवा पक्षकी र ऐर महामन्त्री गगन थापा पक्षकी हुन् ।
यस्तै नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठनहरूले गठबन्धन गरेका छन् ।सभापतिमा अनेरास्ववियुकी सुनिता घिमिरे छिन् । सचिवमा भने अखिल क्रान्तिकारीकी सदीक्षा पोखरेल र कोषाध्यक्षमा सुम्निमा राईको उम्मेदवारी कायम छ ।अनेरास्ववियुले सभापतिसहित चार पद लिने सहमति भएको छ ।माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव निकट अखिल समाजवादीले पनि गठबन्धन गरेका छन् ।
यो गठबन्धनबाट विप्लव निकट विद्यार्थी संगठन अखिल समाजवादीबाट प्रजिता दर्नाल सभापतिको उम्मेदवार छिन् । उनको प्यानलबाट अरुणा गौतम सचिव र आयुषा पण्डित क्षेत्री कोषाध्यक्षको उम्मेदवार छन् ।पद्मकन्यामा नेविसंघको दबदबा छ । २०३६ सालयता यो क्याम्पसमा कम्युनिस्ट धारको विद्यार्थी संगठनबाट शशी श्रेष्ठबाहेक कसैले पनि नतिजा आफ्नो पक्षमा पार्न सकेका छैनन् । श्रेष्ठले २०३८ सालमा पीकेको स्ववियु अध्यक्ष जितेकी थिइन् । तर यो पटक नेविसंघलाई बिरासत जोगाउने चुनौती पनि छ । नेविसंघमा एकता नहुँदाको लाभ उठाउने दाउमा अरु विद्यार्थी संगठन छन् । तर फुटमा पनि जित्ने नेविसंघका नेताहरुले दाबी गरेका छन ।