प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पत्रकारहरु बिक्रीमा रहेको टिप्पणी गर्नुभएको छ ।
शुक्रवार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले आफूमा यस्तो मान्यता रहेको बताउनुभएको हो । सभामुख घिमिरेले थर्काएर, किनेर, फकाएर विग हाउसहरुले प्रभावित पारिरहेको उल्लेख गर्दै पत्रकारहरुलाई त्यसबाट मुक्त हुन पनि आग्रह गर्नुभयो । मुलुकमा पित पत्रकारिता निकै डर लाग्दो गरी देखापरेको सभामुख घिमिरेको बुझाई छ । उहाँले पत्रकारहरुले जिम्मेवारीका साथ पत्रकारिता नगरेको जिकिर गर्दै त्यसको प्रभाव समाजमा परिरहेको पनि बताउनु भयो । सभामुख घिमिरेले सरकार र पत्रकारहरुबीचको सम्बन्ध हानिकारक रहेकाले सञ्चार क्षेत्रको समस्या झनै बढेर गएको बताउनु भयो । उहाँले सरकारसँग राम्रो सम्बन्ध कायम गरेर मात्रै राम्रो ऐन, कानून निर्माणका लागि पत्रकारहरुले राम्रो भुमिका निर्माण गर्नसक्ने पनि स्मरण गराउनु भयो ।
सभामुख घिमिरेले भन्नुभयो, ‘पत्रकारहरु जति जिम्मेवारीसाथ पत्रकारिता गर्नुपर्दथ्यो । अन्यथा नलिनुहोला । यो पत्रकार महासंघ हो । त्यो खालको छैन । पीत पत्रकारिता अहिले पनि निकै डर लाग्दो गरी छ । जेजे कारणले भएपनि तिनीहरु प्रभावित छन् । अझ अर्को भन्ने हो भने त बिक्रीमा छन पत्रकारहरु । अब पत्रकारहरु बिक्रीमा छन् । संघ बिक्रीमा छ भन्यो सभामुखले भन्लान् कि भनेर मैले यसलाई रोकिरहनु पर्दैन । र, त्यो भन्नु पनि हुँदैन तपाईहरुले । किन यो त हाम्रो आफ्नो भित्री कुरा हो नि । त्यसको प्रभावचाहीँ कुनै न कुनै रुपमा परिरहेको छ । विग हाउसहरुले प्रभावित पारेको छ । थर्काएर गरेको छ । किनेर गरेको छ । फकाएर गरेको छ । अनेक ढंगबाट गरेको छ । त्यसको प्रभाव हाम्रो सोसाईटीमा निकै परेको छ । यसबाट मुक्त भएर पत्रकारिता र सरकारको बीचमा कसरी सम्बन्ध राम्रो बनाएर लैजाने होला । चाहे त्यो ऐन ल्याउने सन्दर्भमा होस् वा कार्यान्वयन गर्दा विनियमहरु बनाउने, नियमावली बनाउने, तिनीहरुको तल कार्यान्वयन गर्ने सन्दर्भमा होस् । यी र यस्ता समस्याहरुलाई कसरी हल गर्ने ? यो चाहीँ अलि समस्या हो । यो समस्याको समाधान गर्नु तपाई हाम्रो कर्तव्य हो जस्तो लाग्छ । र, यसलाई हामीले हल गरेको गयौं भने पत्रकारहरु पनि यस्तो प्रभावतबाट कसरी मुक्त हुने त ? यो समस्याको हल गर्नुपर्छ । किनभने यी हाम्रा समस्या हुन् । तर अब राज्यले कुनै पनि ऐन, कानून ल्याउँदाखेरी लुकेर, छिपेर एकैचोटी ल्याउनुपर्ने त होइन नि ।’
सभामुख घिमिरेले कानूनको अभावमा मुलुकमा ठगीहरु बढीरहेकाले त्यसलाई नियन्त्रण हुनेगरी कानून निर्माण गर्ने काममा सरकार र राजनीतिक दलहरुलाई सचेत बनाउने काममा पत्रकारिता क्षेत्रले काम गर्नुपर्ने बताउनु भयो । उहाँले कानून निर्माणमा, राष्ट्र निर्माणमा र मुलुकलाई सही बाटोमा अघि बढाउन पत्राकारहरुको भुमिका महत्वपूर्ण हुने भएकाले पत्रकारहरुले सोही अनुसार सञ्चारका कामहरु गर्नुपर्ने बताउनु भयो ।
सभामुख घिमिरेले भन्नुभयो, ‘कानूनको अभावमा धेरै नराम्रा कुराहरु भइरहेका छन् । नयाँनयाँ परिस्थिति तथा परिवेशहरु सञ्चार क्षेत्रमा देखा परिरहेका छन् । ठगहरु देखापरेका छन् । कन्ट्रोल गर्ने समस्याहरु पनि देखापरेका छन । यी जस्ता कुराहरुमा राजनीतिक पार्टीहरुको चेतना पुग्नुपर्यो । नेताहरु चेतना त्यहाँ पुग्नुपर्यो । अनि, ती समस्या समाधान हुनेगरी विधेयकहरु सरकारमार्फत आउनुपर्यो । त्यसका लागि पत्रकारहरुको भुमिका होस् । पत्रकारहरुको कानून निर्माणमा, राष्ट्र निर्माणमा, के ठिक, के बेठिक हो भन्नेमा त्यसमा ठूलो भुमिका छ ।’
त्यस अवसरमा महासंघका अध्यक्ष विपुल पोखरेलले भने मिडियामैत्री कानून निर्माणमा नेतृत्वदायी निर्वाह गर्न सभामुख घिमिरेको ध्यानाकर्षण गराउनुभएको थियो ।