काठमाडौं I "गाउँ उज्यालो बनाउँ" परियोजनाको सौर्य बत्ती दान कार्यक्रमको औपचारिक घोषणा काठमाडौँमा सम्पन्न भएको छ। यो परियोजना नेपालका दुर्गम गाउँहरूलाई दिगो प्रकाशको माध्यमबाट जीवनस्तर सुधार गर्न चीन–नेपाल साझेदारीमा सुरू गरिएको हो।
कार्यक्रममा चीनका काउन्सिलर छि शान, छोङछिङ नगरपालिका ह्वायान शिक्षा तथा संस्कृत फाउन्डेसनका महासचिव यिन लियाङ, रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, र रसुवा जिल्ला समन्वय प्रमुख अशोक घिमिरेलगायतको उपस्थितिमा आयोजना गरियो।
यस परियोजनाले नेपालका दुर्गम पहाडी क्षेत्रका ५०० घरपरिवारलाई वातावरणमैत्री सौर्य बत्ती वितरण गरी शिक्षा, सुरक्षा र दिगो विकासलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।
पहिलो चरणमा बागमती प्रदेशका काभ्रे जिल्लाका मिन्दुपा र सिम गाउँका करिब ८० परिवार लाभान्वित भएका छन्। परियोजनाको उद्घाटनले दुर्गम गाउँका बालबालिकालाई अध्ययनका लागि उज्यालो वातावरण प्रदान गर्नुका साथै, समुदायको समग्र जीवनस्तर सुधार गर्ने अपेक्षा गरिएको छ।
चिनियाँ प्रतिनिधिले "गाउँ उज्यालो बनाउँ" परियोजना केवल भौतिक सहयोग नभई मानवतावादी मूल्यहरूको प्रतीक भएको बताए। यसले दुई देशबीचको मित्रतालाई अझ प्रगाढ बनाउनुका साथै हरित उर्जा प्रविधिको उपयोगलाई प्रवर्द्धन गर्ने उल्लेख गरे।
नेपालका दुर्गम गाउँहरूलाई प्रकाश र आशाको किरण दिने यो परियोजनाले चीन–नेपाल सहकार्यको एउटा उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।