पोखरा । प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन २०७९ मा नेकपा एमालेले प्रतिनिधिसभामा नारायण मरासिनी र स्याङ्जा– १ ९१० मा मीनप्रसाद गुरुङलाई उमेदवार बनाउने भयो ।
यसअघि नै प्रतिनिधिसभा सदस्य बनिसकेका गुरुङले त्यो प्रस्ताव नमानेपछि पार्टीले स्याङ्जा– १ ९१० मा सीताकुमारी सुन्दासलाई उठाउने भयो ।
‘समानुपातिकतर्फबाट प्रतिनिधिसभाका लागि दलित महिलाको एक नम्बरमा मेरो नाम थियो’, सुन्दास भन्नुहुन्छ, ‘मनोनयन दर्ता गर्नुभन्दा केही दिनअघि मात्र नयाँ परिस्थिती सिर्जना भएपछि प्रत्यक्ष भनेको प्रत्यक्ष नै हो भनेर मञ्जुर भएँ ।’
त्यसरी प्रदेशमा बस्नुभएकी सुन्दास गण्डकी प्रदेशको अर्थमन्त्री नै बन्नुभएको छ । पहिलो प्रत्यक्ष चुनाव विजयसंगै उहाँले राजनीतिक पदीय फड्को पनि मार्नुभएको छ । नेकपा (माओवादी केन्द्र) कि अमृता थापामगरलाई १ हजार ४ सय २४ मतले हराएर प्रदेश सभा प्रवेश गर्नासाथ उहाँ २५ पुसमा आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त हुनुभयो । मुख्यमन्त्री खगराज अधिकारीले उहाँलाई सरकारको प्रवक्तासमेत बनाउनुभएको छ ।
सुरुमा रोशन गाहामगरलाई अर्थ मन्त्रालयमा ल्याउने भनिएकोमा अधिकारी आफैंले राजनीतिमा हुर्काउँदै ल्याएका सुन्दासलाई अर्थमन्त्री बनाउनुभये । पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमै अर्थमन्त्री हुने भनिएका गाहा एमालेबाट दोस्रो पटक गण्डकी प्रदेश सभा सदस्यमा जित्ने एकमात्र नेता हुनुहुन्छ । अर्थ उहाँलाई दिनुपर्ने दबाब अधिकारीमाथि थियो, तर अन्तितमा उहाँले सुन्दासलाई अर्थ गाहालाई आन्तरिक मामिलामन्त्री बनाउनुभयो ।
अर्को पार्टीको वा भनेअनुसार नगर्ने अर्थमन्त्री हुँदा मुख्यमन्त्रीलाई अप्ठेरो परेको उदाहरण यसअघि गण्डकीमै देखिएको थियो । यो कारण पनि अधिकारीले आफूनो कुरा नकाट्ने अर्थमन्त्री रोजेको एमालेका सांसदहरु बताउँछन् ।
सीता सुन्दास प्रदेश सभा चुनाव जित्ने देशभरकै एक्ली दलित महिला सांसद हुनुहुन्छ । संघमा ८ र प्रदेशहरुमा १४ जना महिला चुनिँदा दलित महिला उहाँ एक्ली हुनुहुन्छ ।
दलहरुले देशभरमै दलित महिलालाई उम्मेदवार हुनबाटै बञ्चित गर्दै आएका छन् । एमालेले पनि अर्काले इन्कार गरेपछि मात्र सुन्दासलाई उम्मेदवार बनाएको थियो । स्याङजा जिल्ला समन्वय समितिको प्रमुख र जिल्ला समन्वय समिति महासंघ अध्यक्ष बन्नुभएकी सीता सुन्दास र प्रत्यक्ष टिकटको कुरा उठ्दा एमालेकै कार्यकर्ताहरु भन्थे, ‘कुनै हालतमा पाउँदिनन् ।’ उहँको नाम पनि समानुपातिकतर्फ नै थियो ।
तर, परिस्थितिवश सीता सुन्दासले प्रत्यक्ष चुनावकै टिकट पाउनुभयो, जित्नुभयो र अर्थमन्त्री पनि हुनुभयो । झलनाथ खनाल अध्यक्ष हुँदा स्याङ्जा जिल्ला कमिटी सदस्य र राष्ट्रिय प्रतिनिधि परिषद सदस्यमा मनोनित उहाँ त्यसयता लगातार प्रगतिको उकालोमा हुनुहुन्छ ।
पार्टीको नवौं महाधिवेशनमा उहाँ वैकल्पिक केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो । दशौं महाधिवेशनबाट ओलीले केन्द्रीय सदस्य बनाउनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारी र केपी ओली परिवारदेखि गण्डकीमा खगराज अधिकारीसम्मको निकटता पाउनुभएकी सुन्दास हेर्दाहेर्दै महत्वपूर्ण मन्त्रालयको कुर्चीमा पुगेको एमालका नेता–कार्यकर्ता बताउँछन् ।
हालसम्म बनेका गण्डकीका ३ वटा सरकारले १–१ जना महिलालाई मन्त्री बनाएको छ । त्यसमा एक सुन्दास हुनुभयो । समाजशास्त्रमा स्नातकोत्तर उहाँ एमालेको स्याङ्जा जिल्ला इन्चार्ज पनि हुनुहुन्छ ।
महत्वपूर्ण मन्त्रालय पाउनुभएकी सुन्दासका सामुन्ने चुनौतीको पहाडै छ । पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री हुँदा अर्थमन्त्री किरण गुरुङले आर्थिक अनुशासन कायम गर्न कहिलेकाहीँ मुख्यमन्त्रीकै निर्णय पनि रोक्ने सामथ्र्य राख्थ्नुहुन्थ्यो । त्यस्तो ल्याकत देखाउन सके सुन्दासको भावी राजनीति चम्किने, मुख्यमन्त्रीको रबरस्टाम्प मात्र बने खिइने एमालेका नेता–कार्यकर्ता बताउँछन् ।
onlinekhabar