काठमाडौं । सांगीतिक कार्यक्रमका लागि अमेरिका उडेकी गायिका आस्था राउतलाई त्यहाँस्थित डालस अध्यागमनले नेपाल फिर्ता पठाइदिएको छ ।
पर्यटक भिसामा सांगीतिक कार्यक्रम गर्न नपाइने कारण देखाउँदै आफूलाई अमेरिका प्रवेशमा रोक लगाइएको आस्थाले जानकारी दिनुभयाे । डिसेम्बर १० मा आफू त्यहाँ पुग्दा अध्यागमन अधिकारीले उक्त कारण देखाउँदै रोकेको उहाँले बताउनुभयाे ।
‘मैले यसअघि पनि २०१७, २०१८ र २०२१ मा भिजिट भिसामै कन्सर्ट गरेकोबारे जानकारी गराएँ, तर उहाँहरुले मान्नुभएन,’ उहाँले भन्नुभयाे, ‘काठमाडौं दूतावासमा गएर पुनः पी–३ भिसा लिएर आउन उहाँहरुले भन्नुभएको छ । सोहीअनुसार दूतावासमा पुगेर काउन्सिलरसँग कुरा गर्छु ।’
पर्फमेन्स भिसा अर्थात् पीथ्रीमै पुनः अमेरिका आउन अध्यागमन अधिकारीले उहाँलाई भन्नुभएकाे छ । आफूले सन् २०१५ मै भिजिट भिसा लिएको उहाँले बताउनुभयाे । अंग्रेजी नयाँ वर्ष २०२३ को छेकोमा पेन्सिलभेनियाको लानकास्टरमा नेपाली समुदायले आयोजना गरेको सांगीतिक कार्यक्रममा भाग लिन आस्था त्यसतर्फ जाँदै हुनुहुन्थ्याे ।
आफू कन्सर्टमा सहभागी हुन नपाएपछि आस्थाले दुःख व्यक्त गर्नुभएकाे छ । ‘मैले यो घटना बाहिर ल्याउनुको कारण भोलि यस्तै समस्या अरुलाई नहोस् भनेर हो,’ आस्थाले भन्नुभयाे ।