सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा नेकपा एमालेले एउटा पनि सिट जित्न सकेन ।
सत्ता गठबन्धन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा १ र १ र प्रदेशसभा क्षेत्रतर्फ २ र २ सिट जितेर समान शक्ति बन्दा एमाले भने यो जिल्लामा शून्यमा झरेको छ ।
प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा माओवादीका माधव सापकोटा र क्षेत्र नम्बर २ मा कांग्रेसका मोहनबहादुर बस्नेत विजयी हुनुभएकाे छ ।
सापकोटाले एमालेका सरेश नेपाललाई पराजित गर्नुभएकाे हाे । सापकोटाले ३० हजार ३ सय ७४ मत पाउँदा नेपालले २७ हजार १८ मत ल्याउनुभयाे । २०७४ को चुनावमा नेपाल प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएकाे थियाे ।
बस्नेतले एमालेकै शेरबहादुर तामाङलाई पराजित गर्नुभएकाे हाे । बस्नेतले ३९ हजार ३ सय ६७ मत ल्याउँदा तामाङले २७ हजार ४ सय ९३ मत ल्याउनुभयाे । सत्तारुढ गठबन्धनले गरेको चुनावी तालमेलका कारण यसअघि क्षेत्र नम्बर १ बाट चुनाव लड्ने गर्नुभएका बस्नेत यसपटक क्षेत्र नम्बर २ मा आइपुग्नुभएकाे थियाे । कांग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएकाे बस्नेत पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्रि हुनुहुन्छ भने तामाङ नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्व कानुन मन्त्री हुनुहुन्छ ।
प्रदेशसभा तर्फ १ (१) र २ (२) मा कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने प्रदेशसभा तर्फ १ (२) र २ (१) मा माओवादी केन्द्रका उम्मेदवार विजयी हुनुभएकाे छ ।
कांग्रेसकी मसिना खड्काले प्रदेशसभा १ (१) मा १४ हजार ६५२ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका युद्धविक्रम तामाङले १३ हजार ४९० मत ल्याउनुभयाे । निर्वाचित खड्का सिन्धुपाल्चोक जिल्लाको प्रदेशसभा प्रत्यक्षमा सहभागी पहिलो महिला हुनुहुन्छ ।
यो जिल्लामा मुख्य दलले पहिलो पट्क प्रत्यक्षमा महिलालाई टिकट दिएको हो । सामाजिक सेवा र व्यवसायमा अब्बल उहाँ यो पट्क मुख्य दल कांग्रेसले टिकट दिएपछि राजनीतिमा आउनुभएकाे थियाे ।
प्रदेशसभा १ ९२० मा माओवादी केन्द्रका सरल सहयात्री पौडेलले १७ हजार २५६ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी एमालेका होमनारायण श्रेष्ठले १३ हजार १३ मत ल्याउनुभयाे । निर्वाचित सहयात्री माओवादी केन्द्र बागमती प्रदेका अध्यक्ष हुनुहुन्छ भने पराजय भएका श्रेष्ठ गाउँपालिका महासंघ र जुगल गाउँपालिकाका पूर्वअध्यक्ष समेत हुनुहुन्छ ।
प्रदेशसभा २ (१) मा माओवादी केन्द्रका युवराज दुलालले २० हजार ९०६ मत ल्याउँदा एमालेका अमानसिंह तामाङ १२ हजार १३९ मत ल्याउनुभयाे । उहाँहरुबीचको मतान्तर ८ हजार ७ सय ६७ छ । उहाँ दोस्रो पटक प्रदेशसभामा निर्वाचित हुनुभएकाे हाे ।
दुलाल माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं बागमती प्रदेशका पूर्व सामाजिक विकासमन्त्री हुनुहुन्छ । पराजित हुनुभएकाे तामाङ चौतारा साँगाचोकगढी नगरपालिकाको पूर्व मेयर हुनुहुन्छ ।
प्रदेशसभा २ (२) मा कांग्रेसका कृष्णकुमार तामाङले १७ हजार ७५८ मत ल्याएर विजयी हुँदा एमालेका हस्तबहादुर पण्डितले १६ हजार २५३ मत ल्याउनुभयाे ।
source:-onlinekhabar