पोखरा । पोखराका २० वर्षीय अभिनास अधिकारीले साइन बोर्ड बनाउने मेसिन बनाउनुभएकाे छ । विहिबार उहाँले बनाएको मेसिनको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले औपचारिक उदघाटन गर्नुभएकाे हाे । करिब एक महिना लगाएर निर्माण भएको मेसिनबाट काठमा थ्रीडी टुडी शिलालेख, थ्रीडी टुडी साइनबोर्ड र मायाको चिनो बनाउन सकिने अभिनासले बताउनुभयाे ।

मेसिनको अनावरण सँगै काठबाट बन्ने मायाको चिनोका लागि परनिर्भर हुनुपर्ने अवस्था नआउने भनाई उहाँको छ । नेपालमा नै पहिलो पटक उक्त मेसिन बनेको दाबी अभिनासले गर्नुभएकाे छ । सिएनसी प्रविधिद्वारा निर्मित उक्त मेसिनलाई गुराँस
आर्टसले निर्माण गरेको हो । ‘मायाको चिनो खरिदमा मात्रै नेपालबाट करौडौं रुपैयाँ बाहिर जान्छ । अरुप्रति हामी कति आश्रित हुने ? स्थानीय स्रोत साधनलाई प्रयोग गरेर हामीले पनि त मेसिन निर्माण गर्न सक्छौं भन्ने लाग्यो । फलस्वरुप उक्त मेसिन निर्माण गरे । मैले आफुले पढेको विषयलाई व्यवहारमा उतार्ने प्रयास गरेको हुँ ।’, अभिनासले भन्नुभयाे ।
उहाँले पोखरा विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा अध्ययन गरिरहनुभएकाे छ । विद्यालय पढ्दादेखि नै इन्जिनियरिङमा आफ्नो रुची भएकाले पनि केही नयाँ गर्ने सोच भएको उल्लेख उहाँले गर्नुभयाे । मेसिन निर्माण कार्यलाई उहाँले निरन्तरता दिने
बताउनुभएकाे छ । ‘एउटा मेसिन निर्माण गरेर मात्र बस्दिन । यसको बजारीकरणमा सबैले साथ दिए अन्य मेसिनहरु पनि निर्माण गर्दै जानेछु । आशा छ सबैको सहयोग मिल्नेछ ।’, उहाँले भन्नुभयाे ।

मेसिनको अनावरण गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अभिनासले आफुले पढेको विषयलाई व्यावहारमा उतार्न गरेको प्रयास प्रशंसनिय रहेको उल्लेख गर्नुभयाे । यसले अन्य विद्यार्थीलाई समेत प्रोत्साहन मिल्नेमा उहाँ विश्वस्त हुनुहुन्छ
। अभिनासले निर्माण गरेको मेसिन देखाउनका लागि मात्र नभई व्यवसायका लागि बनेको धारणा उहाँले राख्नुभएकाे छ ।
पोखरा महानगरपालिकाले सभागृहमा बिजनेस प्रोमोशन सेन्टरको स्थापना गरेको र नयाँ व्यावसायीहरुलाई प्रोत्साहन गर्दै आएको जानकारी गराउनुभयाे । अभिनासले निर्माण गरेको मेसिनलाई बजारीकरण गर्न पनि पोखरा महानगरपालिकाले सहज वातावरण मिलाउने अभिव्यक्ति उहाँको छ ।

विद्यार्थीलाई प्रोत्साहन गर्ने विषयमा महानगर सदैव तत्पर रहेको उहाँले बताउनुभयाे । पोखरा उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले अभिनास जस्ता प्रतिभाहरुलाई पोखराले संरक्षण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयाे । प्रतिभाको कदर र संरक्षण नहुँदा जनशक्ति विदेश पलायन हुनुपर्ने बाध्यतालाई समाधान गर्न सरकारी निकाय देखि नीजि क्षेत्र समेत लाग्नुपर्ने आवश्यकतालाई उहाँले औंल्याउनुभएकाे छ ।
जनप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक देवी बास्तोकोटीले विद्यार्थी भाइबहिनीहरु पढ्ने मात्र नभई उद्यमशील नै हुनुपर्ने बताउनुभयाे । अब सैद्धान्तिक तहको अध्ययन सँगै सीप विकासको गतिविधिलाई समेत अगाडि बढाउनुपर्ने धारणा उहाँको छ ।
गुराँस आर्टस्का निर्देशक अभिनासका बुबा शिव बहादुर अधिकारीले आफुले १८ वर्ष पहिले भारतबाट मेसिन मगाएर काम थालेको र अहिले छोराले मेसिन बनाएर सार्वजनिक गर्न पाउँदा खुशी लागेको उल्लेख गर्नुभयाे । कार्यक्रम चलचित्र पत्रकार संघ कास्कीको संयोजनमा भएको थियो ।