पोखरा ५ पर्स्याङ स्थित शान्ति निकेतन स्कुलमा पूर्व आधारभूत तहका विद्यार्थीको दीक्षान्त समारोह सम्पन्न भएको छ ।
विद्यालयले शनिबार एक कार्यक्रमको आयोजना गरी पूर्व आधारभूत तह (यूकेजी) का ६५ जना विद्यार्थीलाई दीक्षित गरेको हो । यस्तै, विद्यालयमा अध्ययनरत नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीलाई शैक्षिक पुरस्कार वितरण गरेको छ भने एसईई दिएका विद्यार्थीको बिदाई पनि गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका, शिक्षा महाशाखाका शिक्षा अधिकृत रामप्रसाद तिवारीले विद्यालयले प्राप्त गरेको शैक्षिक उपलब्धिलाई मुक्तकण्ठले प्रशंसा गरे । तिवारीले पोखराका विद्यालयमध्ये शान्ति निकेतन उत्कृष्ट विद्यालयका रुपमा स्थापित भएको उल्लेख गर्दै शिक्षा महाशाखामा विद्यालयको गतिविधिको रेकर्डले नै पुष्टि गर्ने बताउनुभयाे ।
विद्यालयका संस्थापक प्राचार्य डा. महेश्वर पराजुलीले विद्यालयले समयसापेक्ष शैक्षिक योजना तथा रणनीतिहरुलाई अवलम्वन गर्दै विद्यार्थीका सर्वाङ्गिण विकासमा केन्द्रीत भई उत्कृष्ट पठनपाठन गरिरहेको जनाए । संस्कारयुक्त शिक्षा तथा जीवनपयोगी सीपलाई प्रमुख आधार मान्दै आउँदा दिनमा विद्यालय अघि बढ्ने प्रतिबद्धता जनाउनुभयाे ।
कार्यक्रमको अध्यक्षतासमेत गरेका विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णमणि भुर्त्यालले विद्यालयको शैक्षिक उपलब्धिमा सन्तुष्ट रहेको र आउँदा दिनमा ११ र १२ कक्षाका प्राविधिक धारका विषयहरु सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
कार्यक्रममा विद्यालयका सहप्राचार्य यदुविलास भुर्त्याल, विद्यालयका परीक्षा विभाग प्रमुख हेम सुवेदी, सीपीएस प्रमुख नारायणी पराजुली, अभिभावकका तर्फबाट सर्वोत्कृष्ट नतिजा प्राप्त गर्न सफल गौसिक आलेका अभिभावक गणेश आलेमगरले बोल्नुभएकाे थियाे ।
कार्यक्रममा शैक्षिक अनुशासनसँगै सरसफाईमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । एसईई दिएका विद्यार्थीको बिदाई
यहि चैत २३ गते समापन भएको एसईईमा सहभागी भएका विद्यालयका १४ औं ब्याचका विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरी उत्कृष्ट नतिजाको शुभकामनासहित विद्यालयले एक कार्यक्रमका बीच विद्यालयले बिदाई गरेको हो ।
बिदाई कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य डा. महेश्वर पराजुलीले यस वर्षको एसईईमा सहभागी भएका सबै ४० जना विद्यार्थीलाई सफलताको शुभकामना प्रकट गर्नुभयाे । ‘सबै विद्यार्थीहरुले परीक्षामा राम्रो गरेकोमा म विश्वस्त छु । तपाईंहरुले उत्कृष्ट अंक ल्याई शान्ति निकेतनको नाम चम्काउनुहुनेछ, इतिहास रच्नुहुनेछ ।’
डा. पराजुलीले भन्नुभयाे – ‘उच्च शिक्षाको लागि तयार भएका विद्यार्थीको उज्वल भविष्यको कामना गर्दछु । यो वास्तवमा बिदाई होइन, आगामी दिनको लागि शुभयात्रा हो ।’बिदाई कार्यक्रममा बोल्दै शिक्षासेवी किरण सापकोटाले विद्यालयको शैक्षिकसँगै अतिरिक्त क्रियाकलापमा उत्कृस्ट बिद्यार्थी उत्पादन गर्न सफल भएकोमा मुक्त कण्ठले प्रशंसा गर्नुभयाे । कार्यक्रममा एसईईमा सहभागी भएका मध्येबाट विद्यार्थी शैलज अधिकारीले आफ्नो अनुभव सुनाए र विद्यालयलाई धन्यवाद पनि दिनुभयाे ।