पाेखरा । दोश्रो राष्ट्रिय जेष्ठनागरिक दिवसको अवसरमा पोखरा वृद्धाश्रममा आश्रित १०४ बर्षीय नन्दलाल दाहाललाई नगर पिता घोषणा सहित सम्मान गरिएको छ । माछापुच्छ्रे गाउँपालिकाको लाहाचोकमा विक्रम सम्वत १९७५ मा जन्मनु भई पोखरा २१ मा मजदुरी गर्दै १४ बर्ष अघि पोखरा बृद्धाश्रममा वस्दै आउनु भएका दाहाललाई आश्रममा आयोजित एक समारोहका बीच सम्मान गरिएको हो ।
पोखरा महानगर सामाजिक विकास महाशाखाको आयोजना एवम पोखरा २१ र वृद्धाश्रमको समन्वयमा भएको कार्यक्रममा उहाँलाई सामाजिक समिति संयोजक एवम् पोखरा १७ का वडाअध्यक्ष राधिका शाही योगीले ११ हजार रुपैया नगद सहित
दोसल्ला र सम्मानपत्रले सम्मान गर्नुभएको हो ।
“हामी सवैको सरोकार जेष्ठनागरिकको अधिकार” भन्ने नाराका साथ आयोजित कार्यक्रममा उहाँले २०५१ सालमा तत्कालिन सरकारले सामाजिक सुरक्षा भत्ता शुरु गरेको दिनलाई आधार मानेर गत बर्षदेखि राष्ट्रिय जेष्ठनागरिक दिवस मनाउन शुरु
गरिएको जानकारी दिनुभयो ।
पोखरा महानगरपालिकाले जेष्ठनागरिकको सुविधाका लागि ३३ वटै वडामा जेष्ठनागरिक सेवा केन्द्र सञ्चालनका लागि प्रत्येक वडाको लागि १० लाख रुपैयाँका दरले बजेट विनियोजना गरेको बताउनुभयो ।
कार्यक्रममा पोखरा २१ वडा अध्यक्ष दिपक सुवेदीले आफ्नाे जन्मदाता बुबा आमाको समेत उचित सेवा पुर्याउन नसकेको हाम्रो समाजमा ४६ जना विपन्न,असहाय जेष्ठनागरिकको पालन पोषण गरेर वृद्धाश्रमले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो ।
बृद्धाश्रमका अध्यक्ष कुसुम केशव पराजुलीले आश्रममा हाल वृद्ध आमा बुवा र सेवक सेविका सहित ५५ जना रहेको बताउँदै संस्था दाताको सहयोगबाट सञ्चालन हुदै आएको जानकारी दिनुभयो ।
उहाँले जेष्ठनागरिकको सिपलाई भरपुर उपयोग गर्दै आश्रममा गुन्द्रुक र मस्यौरा बनाउने कार्यक्रमको समेत सञ्चालन भएको बताउँदै अध्यक्ष पराजुलीले भन्नुभयो, “उत्पादित वस्तुको प्याकेजिङ गरि बजारमा विक्री गरिने तयारी भई रहेको छ ।”
कार्यक्रममा पोखरा महानगर सामाजिक विकास महाशाखा प्रमुख गिता न्यौपाने,पोखरा बृद्धाश्रमका कोषाध्यक्ष धर्म गुरुङ लगायतले जेष्ठनागरिक दिवसको महत्वको वारेमा चर्चा गर्नुभएको थियो ।