महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले राष्ट्रपतिका नातेदारलाई समाज कल्याण परिषद्को उपाध्यक्ष नियुक्त गर्न आफूले कुनै दबाब नदिएको स्पष्ट पार्नुभएको छ ।
मंगलवार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै परिषद्का अध्यक्षसमेत रहनुभएका मन्त्री आचार्यले सो कुरा बताउनुभएको हो । उहाँले सो सम्बन्धमा सञ्चारमाध्यममा आएका समाचारमा सत्यता नभएको जिकिरसमेत गर्नुभयो । उहाँले परिषद्को उपाध्यक्ष हुन योग्य मानिसले निवेदन दिनसक्ने अवस्था रहेको भन्दै त्यहीअनुसार नियुक्त हुने बताउनु भयो । उहाँले कसको नाता के पर्छ भन्दा पनि योग्यलाई नियुक्त गर्ने जिकिर गर्नुभयो । उहाँले समाजकल्याण परिषद्का पुराना कानूनहरुलाई परिमार्जन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले अहिले समाजमा समाजकल्याण परिषद्लाई प्रभावकारी बनाउन वर्तमान समय सापेक्ष कानून बनाउन सरकार लाग्ने बताउनु भयो ।
उहाँले भन्नुभयो,‘समाज कल्याण परिषद्का पुराना कानूनहरुलाई परिमार्जन गर्नुपर्छ । अहिले समाजमा समाजकल्याण परिषद् माथि उठ्ने जुन धारणाहरु छन् । उद्देश्य जुन हो । समाजको कल्याण गर्नुपर्ने नयाँ कानून बनाउनुपर्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था परिचालन एवं समाज कल्याण परिषद्लाई थप प्रभावकारी बनाउन सुझावहरु संकलन भएको छ । समाज कल्याणका कुनैपनि कार्यक्रम आफ्नो जिल्लामा नगिएको भन्दै लगिएको भेटिए जिम्मा लिन तयार छु । समाज कल्याण परिषद्को उपाध्यक्षमा राष्ट्रिपतिको भतिज नियुक्त हुन लागेको विषय कल्पनामा गरिएको हो ।’
उहाँले समाज कल्याण परिषद्का राम्रा योजना आफ्नो जिल्लामा लगिएको सांसदहरुले आरोप लगाएको भन्दै त्यस्तो भेटिए आफू जिम्मा लिन तयार रहेको बताउनु भयो ।
—न्युज एजेन्सी नेपाल