महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले ज्येष्ठ नागरिकहरुको संरक्षणमा राज्यका सबै निकाय संवेदनशील बन्न आवश्यक रहेको बताउनुभएको छ ।
जनसांख्यिक बनावटमा आएको परिवर्तन, बसाईसराईँ, बैदेशिक रोजगारीजस्ता कारणहरुले ज्येष्ठ नागरिकहरुको संरक्षणमा नयाँ चुनौतिहरु थपिएको उल्लेख गर्दै मन्त्री आचार्यले त्यस्ता चुनौतिको समाज सुहाउँदो रणनीति तय गरेर सामना गर्नुपर्ने बताउनुभएको हो । राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले ज्येष्ठ नागरिकहरुको अधिकार सुनिश्चित गर्नका लागि सरकारले सञ्चालन गरेर सेवा–सुविधासम्बन्धि कार्यक्रमहरु प्रभावकारी रहेको दाबी समेत गर्नुभयो । मन्त्री आचार्यले ज्येष्ठ नागरिकहरुका लागि दिइएको सामाजिक सुरक्षासँग सम्बन्धित कामलाई बिस्तार तथा गुणस्तरीय बनाउन आफू लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘जनसांख्यिक बनावटमा आएको परिवर्तन, बसाईसराईँ, बैदेशिक रोजगारीजस्ता कारणहरुले ज्येष्ठ नागरिकहरुको संरक्षणमा नयाँ चुनौतिहरु थपिएका छन् । यस्ता चुनौतिहरुको सामना गर्न दिगो र समाज सुहाउँदो रणनीति कार्यान्वयन गर्न राज्यका सबै निकायहरु संवेदनशील बन्न आवश्यक छ । ज्येष्ठ नागरिकहरुको अधिकार सुनिश्चितताका लागि नेपाल सरकारले सञ्चालन गरेका विभिन्न कार्यक्रमहरु जस्तै सामाजिक सुरक्षा भत्ता, ज्येष्ठ नागरिक स्वास्थ्य बीमा, ज्येष्ठ नागरिक आश्रम, दिवा सेवा केन्द्र तथा उहाँहरुलाई सेवा, सुविधामा प्राथमिकता, छुट एवं सहुलियत प्रदान गर्ने कार्यक्रमहरु प्रभावकारी रहेको पाइएको छ । यस्ता कार्यक्रमहरु थप बिस्तार एवं गुणस्तर अभिवृद्धि गर्दै सबै ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा सञ्चालनमा आवद्ध गर्न यस मन्त्रालयले नेतृत्वदायी भुमिका निर्वाह गर्ने म प्रतिवद्धता जनाउन चाहन्छु । आगामी दिनमा नेपालको संविधान, विभिन्न ऐन, कानून र मानव अधिकारका विषयसँग जोडिएका ज्येष्ठ नागरिकका हक, अधिकारको सुनिश्चित गर्न के, कस्ता विषय कार्यक्रमहरु संचालन गर्न सकिन्छ ? त्यसमा यस क्षेत्रका सबै विज्ञ तथा प्रवुद्ध वर्गको सुझावको अपेक्षा गर्दै यस्ता कार्यक्रमहरु तीन वटै तहका सरकार र सबै सरोकारवालाहरुको सहकार्यमा सञ्चालन गर्दै जाने विश्वास दिलाउन चाहन्छु ।’
मन्त्री आचार्यले ज्येष्ठ नागरिकहरुको हितका लागि प्रवुद्ध वर्ग तथा सरोकारवाला निकायको सुझावलाई सरकारले अंगिकार गरेर अघि बढ्ने बताउनु भयो ।