राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पार्टी जीवनमा आएका अफ्ठ्याराहरु चिरेर आगामी कदम अघि बढाउने बताउनुभएको छ ।
शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अभियान, क्रान्ति र देश निर्माणमा हिँड्ने क्रममा राजनीतकि पार्टीका जीवनमा यस किसिमका घटनाहरु हुने गरेको बताउनु भयो । उहाँले देश निर्माण गर्ने नयाँ पुस्ताको अभियानलाई निरन्तर रुपमा अघि बढाउने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘एउटा अभियान, क्रान्ति र देश निर्माणमा हिँडिरहँदा एउटा राजनीतिक पार्टीका जीवनमा अनेक घटनाहरु हुन्छन् । हामीलाई थाहा छ । नेपालको राजनीतिक इतिहासमा अहिले स्थापित नेताहरु हुनुहुन्छ, उहाँहरुले पनि उहाँहरुको बेलामा राणाका, पञ्चायतका बेलामा राज्यले उहाँहरुलाई पनि कति अन्याय गरेको थियो भन्नेकुरामा उहाँहरु स्वयं अनुभवी हुनुहुन्छ । पार्टी जीवनमा आएका अफ्ठ्याराहरु चिरेर आगामी कदम अघि बढाउँछौँ । देश निर्माण गर्ने नयाँ पुस्ताको अभियान छ, यो निरन्तर अगाडि जान्छ ।’उहाँले पार्टी र खास नेताहरुको जीवनमा यस्ता घटनाहरु हुने गरेको बताउनु भयो ।
—न्युज एजेन्सी नेपाल