पोखरा । भाषा, साहित्य र संस्कृतका अध्येता उमाशंकर द्विवेदी ‘दधिची’को हृदयघातका कारण शनिवार दिउँसो निधान भएको छ । वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २४ बहुअरी निवासी ६८ वर्षीय द्विवेदीलाई घरमा ह्रदयघात भएपश्चात बयोधा मेडिसिटी अस्पतालमा पुर्याइएको थियाे। अस्पतालले द्विवेदीलाइ मृत घोषित गरेको थियाे ।
वाङ्मयका क्षेत्रमा दधिची नामले परिचित उहाँ वीरगन्ज महानगरपालिकाले पहिलो पटक स्थापना गरेको भोजपुरी प्रतिष्ठानका अध्यक्षसमेत हुनुहुन्छ । देशका विभिन्न स्थानका स्थानीय भाषा, संस्कृति रहनसहन र रीतिरिवाँज अध्ययनमा समय खर्चनुभएका दधिचीले नेपालीय भोजपुरी साहित्यको पहिलो खण्डकाव्यसमेत प्रकाशन गर्नुभएकाे थियाे ।
इञ्जिनियरिङ्ग अध्ययनपछि सरकारी सेवानिवृत्त दधिचीका नेपाली तथा भोजपुरी भाषामा अनुवादित एक हजार भन्दा बढी स्तम्भ लेख प्रकाशित छन् । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य दधिचीका भोजपुरी भाषामा ‘विदागिरी’खण्डकाव्य, ‘चुरइन,’ ‘दगबेर’ कथासङ्ग्रह, ‘हमरा गाँव के लोग’ उपन्यास निकै चर्चित कृति हुन् । दधिचीका श्रीमती, तीन छोरा र एक छोरी छन् ।