काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेगस्पीनर सन्दीप लामिछानेलाई कारबाही गरेको छ । लामिछानेलाई क्यानले अनुशासनको कारवाही गरेको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयाे ।
प्रवक्ता लामाका अनुसार गत साता सम्पन्न जय ट्रफी एलिट कपका बेला लामिछानेले अम्पायरको निर्णयबारे सामाजिक सञ्जालमा लेखेकाे विषयमा लामिछानेलाई कारवाही गरिएको हो।
लामिछानेलाई क्यानले एक खेलका लागि निलम्बन गर्दै स्पष्टीकरण समेत सोधेको छ । ‘जय ट्रफीका बेला सन्दीपले अम्पायरका बारेमा सार्वजनिक रूपमा सामाजिक सञ्जालमा लेखेकाले त्यो कुरा खेलाडीसँगको सम्झौताको २.७ मा उल्लेख गरिएको नियमको उल्लंघन भएकाले लामिछानेलाई एक खेलका लागि निलम्बन गरिएको हो’ छुम्बीले भन्नुभयाे ।
सन्दीपले अब क्यानले आयोजना गर्ने कुनै प्रतियोगितामध्ये एक खेल खेल्न न पाउने र सोही विषयमा लामिछानेसँग स्पष्टीकरण पनि सोधिएको छ । सन्दीपले जनवरी १० मा सामाजिक सञ्जालमा नेपाली अम्पायरको स्तरमा सुधार हुनुपर्ने उल्लेख गर्दै अम्पायरको निर्णय राम्रो नभए धेरै खेलाडीहरूलाई असर पुग्ने बताएका थिए ।