काठमाडौं l रत्नराज्यलक्ष्मी क्यामपस आरआरमा स्वतन्त्र विद्यार्थी युनियनको स्ववियु निर्वाचन स्थगित भएको छ ।सबै तयारी पूरा भइसकेपछि एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले क्याम्पसमा ताला लगाईदिएपछि चुनाव रोकिएको हो। निर्वाचन समितिका संयोजक महेश भट्टराई र क्याम्पस प्रमुख डा. पद्मकुमार अधिकारीले सूचना जारी गर्दै सम्पूर्ण तयारी भइसकेको अवस्थामा तालाबन्दी हुँदा प्रतिकूल अवस्था सिर्जना भएको जानकारी दिएका छन् ।
सरोकारवाला पक्षसँग छलफल गरी अर्को मिति तोक्ने गरी हाललाई निर्वाचन स्थगित गरिएको निर्वाचन सिमित संयोजक भट्टराईले बताएका छन् ।
अनेरास्ववियुले सोमबार मध्यराति क्याम्पसको प्रवेशद्वारमै ताला लगाएको छ । क्याम्पस प्रशासनले फर्जी कार्ड नक्कली परिचयपत्र जारी गरेको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको बताएको छ । यस्तै सुरक्षाको कारण देखाउँदै अमृत साइन्स क्याम्पसमा पनि मंगलबार हुने भनिएको स्ववियु निर्वाचन स्थगित गरिएको छ ।निमित्त क्याम्पस प्रमुख होमबहादुर बानियाँले सूचना टाँस गरेर निर्वाचन स्थगित गरिएको जानकारी दिएका छन् ।सोमबार आह्वान गरिएको बैठकमा केही विद्यार्थी सङ्गठन अनुपस्थित भएको भन्दै निर्वाचन स्थगित गरिएको सूचनामा उल्लेख गरिएको छ ।त्रिविको विश्वविद्यालय क्याम्पसमा पनि आज मतदान नहुने भएको छ।