काठमाडौं । भोलि बिहीबार हुन गइरहेको राष्ट्रपति निर्वाचनमा कसलाई भोट दिने र राजनीतिक विषयमा छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा १ बजे बस्ने सो दलले जनाएको छ ।
‘राष्ट्रपतिको निर्वाचनका बारेमा पनि बैठकमा छलफल हुनेछ,’ प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार बैठकमा समसामयिक राजनीतिक विषय र देशमा देखिएको पछिल्लो आर्थिक मन्दीका विषयमा पनि छलफल हुनेछ ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको राप्रपाले सोही गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई मतदान गर्ने कि नगर्ने बारेमा आज निर्णय लिने श्रेष्ठले बताउनुभयो । यसअघि राष्ट्रपतिका उम्मेदवार पौडेल र सुवासचन्द्र नेम्वाङ दुवैले राप्रपासँग छलफल गरिसकेका छन् ।