क्रान्तिकारी कम्युनिष्ट पार्टीका अध्यक्ष मोहन वैद्यले अहिलेको राज्य सत्ता र संसदीय व्यवस्थाको अन्त्यका लागि संघर्ष गर्ने घोषणा गर्नुभएको छ ।
मंगलवार माओ दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले शासन सत्ता फेरिएको भएपनि शोषण, उत्पीडनका रुपहरु पुरानै रहेको बताउनु भयो । उहाँले कम्युनिष्टहरु अहिले काँग्रेसीहरुको संसदीय व्यवस्थाको भाग खोसेर संसदीय व्यवस्था हाम्रो हो भनेर लागेको बताउनु भयो । उहाँले अहिलेको सत्ता र व्यवस्थाबाट जनताका समस्या समाधान हुन नसक्ने जिकिर गर्नुभयो । उहाँले राष्ट्रियता जनतन्त्र र जनजीविकाका समस्याहरु विकराल बनेर गएको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘आज पुरानो व्यवस्था, पुरानो सत्ता छ, दलाल पुँजीपति नोकशाही पुँजीपति र सामन्त वर्गीय राज्य सत्ता अझै छ । शासन सत्ता फेरिएको छ र संसदीय व्यवस्था अहिलेको शासन सत्ता छ । तर शोषण, उत्पीडनका रुपहरु मुलभुत रुपमा उनै पुराना छन् । संसदीय व्यवस्थामा जाने पार्टीहरु जुन हिजो संसदीय व्यवस्था भन्दा नेपाली काँग्रेसका साथी वा काँग्रेसले संसदीय व्यवस्था त हाम्रै हो भन्ने गर्दथे, त्यो हो पनि तर पछि के भयो भने कम्युनिष्टहरुको एउटा समूह अथवा अर्को समूह ऐतिहासिक झापा बिद्रोहका साथीहरु र महान जनयुद्धमा संलग्न साथीहरुको एउटा हिस्सा संसदीय व्यवस्थामा गएर काँग्रेसीहरुको भाग खोसेर हाम्रो पो व्यवस्था हो त भनेर लाग्नुभएको छ । लाजको मर्नु । त्यसकारणले यो सत्ताबाट पनि र यो व्यवस्थाबाट पनि जनताको मुक्ति हुनेवाला छैन । राष्ट्रियता जनतन्त्र र जनजीविकाका समस्याहरु अत्यन्तै विकराल बनेर गएका छन् । अब यो व्यवस्था चल्न सक्दैन । हामीले यो राज्य सत्ता र यो संसदीय व्यवस्थाको अन्त्यका लागि संघर्ष गर्न जरुरी छ ।’
संसदीय व्यवस्थाको चुनावप्रति नागरिकहरु असन्तुष्ट छन् । चक्र झैँ ५÷५ वर्षमा घुमेका छन् । हुने केही होइन । गर्ने त्यही हो । सत्तामा ओली जी बस्ने अर्का जीले पूरै बिरोध गर्छन् । प्रचण्डजी प्रतिपक्ष भएर ओलीजी सत्तामा गयो भने फेरि ओलीजीलाई सत्तोसराप हाल्छन् ।