गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा तीन महिनापछि नियमित उडान सुरू भएको छ । मौसममा सुधार आएसँगै शुक्रबार नेपाल एयरलाइन्सको विमानले उडान भरेको हो । मौसम हेरेर अबदेखि प्रत्येक हप्ताको मंगलबार र शुक्रबार नियमित उडान भर्ने नेपाल एयरलाइन्स रेसुङ्गा स्टेसन इन्चार्ज सुमन थापाले जानकारी दिनुभयाे ।
शुक्रबार काठमाडौंबाट रेसुङ्गा ११ जना यात्रु आएका छन् । रेसुङ्गाबाट काठमाडौंका लागि तीनजना मात्रै यात्रु थिए । मौसम खराबीले पटकपटक विमान उडान नभएपछि यात्रु मारमा परेका थिए।
सरकारले भ्याट लगाएसँगै भाडादर वृद्धि भएको छ। नयाँ भाडादरअनुसार रेसुङ्गादेखि काठमाडौं ७ हजार ८० रुपैयाँ र काठमाडौंदेखि रेसुङ्गा ७ हजार २ सय ८० रुपैयाँ कायम गरिएको रेसुङ्गा स्टेसन इन्चार्ज थापाले जानकारी दिनुभयाे ।
पुरानो भाडादर रेसुङ्गादेखि काठमाडौं ६ हजार ३ सय रुपैयाँ र काठमाडौंदेखि रेसुङ्गा ७ हजार २ सय ८० रुपैयाँ थियो।
गत बैशाखको अन्तिम सातादेखि व्यवसायिक उडान सुरू गरेपनि मौसम खराबीका कारण उडान हुन सकेको थिएन् । रेसुङ्गा विमानस्थलमा विमान उडानको लागि बिहानी समय उपयुक्त मानिएको छ । शुक्रबारदेखि नियमित उडानको खबरले गुल्मीबासीमा थप उत्साह छाएको छ ।