काठमाडौं । कैलालीमा नेपाल भारत सीमामा रहेका सीमा स्तम्भ मर्मत तथा रङरोगन शुरू भएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा नेपाल र भारतका सुरक्षा निकायको सहभागितामा सीमा स्तम्भ मर्मत शुरू गरिएको हो ।
टीकापुर नगरपालिका–८ मा रहेको खक्रौलामा रहेको ७३२ सीमा स्तम्भमा रङरोगन गरी मर्मत शुरू गरिएको छ । टीकापुर नगरपालिका क्षेत्रमा रहेका सात वटा मुख्य स्तम्भ मध्ये ७००, ७०५, ७०७ नम्बरका मात्रै रहेका र अन्य मुख्य र सहायक स्तम्भ कर्णाली र मोहना नदीले बगाएको अवस्था छ । ७०४ सीमा स्तम्भ जोखिममा रहेकाले त्यसलाई जोगाउनुपर्ने स्थानीयवासीले माग गर्दै आएका छन् ।
नेपालका तर्फबाट सशस्त्र प्रहरी बल र भारतका तर्फबाट सीमा सुरक्षा बल (एसएसबी) ले सीमाको सुरक्षा गरिरहेको छ । जोर नम्बरका सीमा स्तम्भलाई भारतले र बिजोर नम्बरका सीमा स्तम्भ नेपालले मर्मत–सम्भार गर्नुपर्ने सम्झौतामा छ । कैलालीमा एक सय एक सीमा स्तम्भ रङरोगन तथा मर्मतसम्भार गरिने बताइएको छ ।