राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनबाट परिवर्तनको लडाईं शुरु भएकाले पूरा गरेरै छोड्ने बताउनुभएको छ ।
बिहीवार चितवन जिल्ला अदालतले ५४ लाख धरौटीमा रिहा गरेसँगै अदालत परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मुलुकको परिवर्तन गरेरै छोड्ने संकल्पसहित आफू अघि बढेको बताउनु भयो । उहाँले चितवन देवभूमि भएकाले चितवनवासीहरु पनि देतता जस्तै रहेको बताउनु भयो । उहाँले चितवनवासीले आफ्नो न्यायका लागि लसाथ दिएको भन्दै चितवनले परिवर्तन जन्माउन खोजेको कुरालाई देशभर नै परिवर्तन गरेर देखाउने बताउनु भयो । उहाँले जालझेल पूर्ण ढंगले आफ्नो सांसद पदलाई निलम्वन गरिएकोप्रति आपत्ति जनाउनु भयो ।
उहाँले भन्नुभयो, ‘प्रतिक्रिया दिने बेला त भएको होइन, तर मेरो निर्वाचन क्षेत्र चितवन भएकाले चितवनले मेरो न्यायका लागि लामो समयदेखि प्रयास गर्नुभएको छ । चितवन देवभूमि हो, सबैलाई थाहा छ । देवताको बास भएको ठाउँ हो । यहाँ देवता जस्ता मान्छे बस्नुहुन्छ । त्यसकारणले मलाई यहाँबाट न्याय नहुने भन्ने कुनै प्रश्न नै छैन । म पूर्ण रुपमा विश्वस्त नै छु । चितवनवासी आमाबुबा, दिदिभाईहरुले मेरो न्यायका लागि बारम्बार लड्नुभएको छ । चितवनवासीले दुई दुई पटक निर्वाचित गरेर मलाई पठाइसक्दा जालझेल पूर्ण ढंगले सांसद पदलाई निलम्वन गरिएको छ । म चितवनवासी मतदातालाई के भन्न चाहन्छु भने यो प्रश्रव पीडा हो । चितवनले परिवर्तन जन्माउन खोजेको छ । त्यसको संकेत दिएको छ । मुलुककै परिवर्तन जन्माउन तत्पर रहेको चितवनले धेरै काम गरेको छ । परिवर्तनको जन्म भएरै छोड्छ । चितवनले शुरु गरेको परिवर्तन पूरा हुन्छ । यसमा कोही रुनु पर्दैन ।’ उहाँले परिवर्तनको लडाईं अझै बाँकी रहेको बताउनु भयो ।
—न्युज एजेन्सी नेपाल