राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले नेपालको सर्वाभौम सत्ता जोगाउन भूराजनीतिक सन्तुलन कायम राख्नुपर्ने बताउनुभएको छ ।
बिहीवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको सर्वाभौम सत्ताको मुल आधार भूराजनीतिक सन्तुलन भएको बताउनु भयो । उहाँले नेपालले आफ्नो सार्वभौम सत्ता कायम राख्न सक्नुको मुख्य आधार भूराजनीतिक संवेदनशीलता रहेको बताउनु भयो । उहाँले भूराजनीति सन्तुलन कसरी कायम राख्ने ? ऐतिहासिक रुपमा नेपालले यो भुमिका कसरी कायम गरेको छ ? भन्ने हिसावबाट हेर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेपालको सर्वाभौम सत्ताको मुल आधार भूराजनीतिक सन्तुलन हो । नेपाल बचेको, नेपाल बढेको, नेपालले आफ्नो सार्वभौम सत्ता कायम राख्न सकेको मुख्य आधार के हो भने भूराजनीतिक संवेदनशीलता हो । भूराजनीति सन्तुलन कसरी कायम राख्ने ? ऐतिहासिक रुपमा नेपालले यो भुमिका कसरी कायम गरेको छ । पृथ्वीनारायण शाह, जंगबहादुर होस् चाहे बिपी कोईराला होस् सम्पूर्ण मान्छेहरुले नेपालमा आफ्नो भूराजनीतिक असंग्नतामा कार्यकौशलता प्रदर्शन गरेर यो मुलुकको अस्तित्व जोगाएका छन् ।’
बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले जलवायु सम्मेलन (कोप—२८) मा प्रधानमन्त्रीले राख्ने विषयवस्तुहरु अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिलाई जानकारी नगराएकोमा आपत्ति जनाउनु भयो । उहाँले उत्तर कोरियाले नेपालस्थित राजदुतावास हटाएकोबारे सरकारले जानकारी नगराएकोप्रति पनि आपत्ति जनाउनु भयो । उहाँले नेपालमा भइरहेको दुतावास हट्नु भनेको नेपालसँग एउटा मित्रराष्ट्र घट्नु रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हिमालहरु नाङ्गिँदै छ । यो त सबैले थाहा पाएकै विषय हो । यसकारण कोपमा के बोल्नुहुन्छ प्रधानमन्त्रीज्युले त्यो त यहाँ हाम्रो समितिलाई थाहा हुनुपर्छ नि । प्रजातन्त्र कोरियको राजदुतावास बन्द गरेर गयो । खै सरकार यो समितिलाई जानकारी दिनुपर्दैन ? यो देशमा जे भएपनि केही मतलव नै नहुने सरकारलाई ? उएटा देशको राजदुतावास जानु भनेको हाम्रो एउटा मित्र घट्नु हो । हाम्रो सरकारबाट केही सहयोग नपाएको हो की ? हेला भयो की ? अर्को रुस र युक्रेनको सेनामा दुवैमा नेपाली युवाा भर्ना हुँदा मरेको भन्ने छ । गोरखा भर्तीदेखि बेलायतले अर्काको देशमा लड्नको लागि युवालाई लगेको लग्यै । यो समितिले सरकारलाई त्यसबारेमा सोध्नुपर्छ । अबदेखि नेपालले नेपाली युवालाई भाडाको सेना बनाउनु हुँदैन । हाम्रो छोराछोरी भाडाको सिपाही बनाउन नचाहने, जनताको छोराछोरीलाई लगेर लडाउने ? यो समितिले न्याय गरेको सरकारले न्याय गरेको हुँदैन । समितिले सरकारलाई कडा निर्देशन दिनुपर्छ । कि समितिले प्रधानमन्त्रीको छोराछोरीदेखि सर्वसाधारणको छोराछोरीलाई भाडाको सिपाही बनाउनुपर्छ भनेर कानून बनाउनु पर्छ । जनताको छोरा छोरी लडाउनु हुँदैन, यो युवा बेच्ने कुरा हो ।’
सांसद सुवालले नेपालले नेपाली युवालाई भाडाको सेना बनाउनु नहुने बताउनु भयो ।