काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पुराना राजनीतिक दलहरू सबै बेठिक हुन् भन्ने भाष्य तयार गरिएको बताउनुभएको छ ।
आज बिहीवारको प्रतिनिधिसभाको बैठकमा प्रमुख सचेतक लेखकले यो व्यवस्था गणतन्त्र र संविधान ल्याउने राजनीतिक दलहरू बेठिक हुन् भन्ने किसिमले प्रायोजित रूपमै आक्रमण भइरहेको बताउनुभएको हो । उहाँले यो संविधान र व्यवस्था असफल भए देश खतरामा जाने दाबी गर्नुभयो । संविधान सफल बनाउन सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘अब यो संविधान असफल गर्ने छुट हामीसँग छैन । यदि यो संविधान असफल भयो भने देश अत्यन्त अनिष्टकारी खतरा, अफ्ठ्यारोमा पुग्न सक्छ । यो संविधान सफल गर्नका लागि पनि लोकतान्त्रिक मूल्य र मान्यताको परिधिमा बसेर सहमति र सहकार्यको विकास गर्नुपर्छ । यो संविधान र अहिलेको व्यवस्थामा यदाकदा यसका विरुद्धमा प्रायोजित रूपमै आवाज उठाउने गरिएको छ ।यो व्यवस्था, यो संविधान नै खराब हो भन्ने गरिएको छ । पुराना राजनीतिक दलहरू बेठीक हुन्, यी अब काम लाग्दैनन्, केही काम गर्न सक्दैनन् भन्ने एउटा प्रायोजित ढङ्गले भाष्य तयार गर्ने प्रयत्न भइरहेको छ । यो देशका लागि खतरा छ ।’
प्रमुख सचेतक लेखकले संविधान सफल बनाउनका लागि लोकतान्त्रिक मूल्य र मान्यताको परिधिमा बसेर सहमति र सहकार्यको विकास गर्नुपर्ने बताउनुभयो । प्रायोजित षड्यन्त्रलाई चिर्न सबै दलहरू एक ठाउँमा उभिनुपर्नेमा उहाँले जोड दिनुभयो ।