रामेछाप । रामेछाप जिल्लामा रहेका तीनवटा डेरी जरिवानामा परेका छन्। जिल्ला प्रशासन कार्यालय घरेलु तथा साना उद्योग कार्यालयको संयुक्त अनुगमन टोलीले जिल्लामा सञ्चालित चिरञ्जीवी डेरी, रामेछाप डेरी र अमृत डेरीलाई १५ हजारका दरले जरिवाना गराइएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ।
वैशाख ६ बिहीबार निमित्त प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेको अध्यक्षमा निमित्त प्रमुख जिल्ला अधिकारी घिमिरेको अध्यक्षतामा जिल्लाका सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिको बैठकले जिल्लामा बिना लेबलको दूध तथा दूग्धजन्य पदार्थ बिक्री वितरण गर्न गुणस्तर र मूल्य निर्धारण गरेको थियो।
निर्णयलाई कार्यान्वयन गर्ने बताएका व्यवसायीले नियम पालना नगरेको अनुगमनका क्रममा पाएपछि कारबाही गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयाे।
सरकारले गाईको दूध १ सय र भैंसीको दूध १ सय २० निर्धारण गरिएको भए पनि रामेछापमा भने गाईको दूध न्यूनतम् फ्याट ४ प्रतिशत र एसएनएफ न्यूनतम् ८ प्रतिशत भएको दूधको मूल्य ९५ रुपैयाँ कायम गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।
भैंसीको दूधमा भने न्युनतम ५ प्रतिशत फ्याट र न्यूनतम् ८ प्रतिशत गुणस्तर भएको दूध मात्र बिक्री वितरण गर्न दिने निर्णय भएको थियो। ग्राहकले दूध खरिद गर्दै गर्दा अनुगमनमा खटिएको टोलीले परीक्षण गर्दा तोकिएको मापदण्ड नपुगेको देखिएपछि कारबाही गरिएको पनि निमित्त प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिनुभयाे।
दूग्ध व्यवसायीले पटक पटक नियम उल्लंघन गरे २ लाखसम्म जरिवाना र कालोबजारी ऐनअन्तर्गत कारबाही हुने पनि घिमिरेले बताउनुभयाे।
annapurnapost