स्याङ्गजा फेदीखाेला गाउँपालिका वडा -२ काे हिम शिखर क्लव द्वारा आयोजित 'राम नवमी चैते दशैँ मेला २०७९' तथा जिल्ला स्तरीय पुरूष भलिवल प्रतियाेगिता सम्पन्न भएकाे छ ।
चैत्र १३ देखि संचालन भएकाे चैते दशैँ मेला तथा पुरूष भलिवल प्रतियाेगिता चैत्र १६ गते साँस्कृतिक कार्यक्रम विजेताहरूलाइ पुरस्कार प्रदान,आर्थिक ,भाैतिक विभिन्न माध्यमबाट साथ सहयाेग पुर्याउनेलाइ सम्मानपत्र वितरणसहित कार्यक्रम सम्पन्न भएकाे हाे ।

समापन कार्यक्रममा गण्डकी प्रदेश सरकारका माननीय सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङज्युको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियाे। समापन समारोहमा विशिष्ट अतिथि फेदीखोला गाउँपालिकाका प्रमुख घनश्याम सुवेदी, विशेष अतिथि जिल्ला समन्वय समिति स्याङ्जाका सदस्य निरमाया कार्की, गाउँपालिका उपाध्यक्ष देउ कुमारी गुरुङ, वडा नं २ अध्यक्ष अबिलास गुरुङ, फेदीखोला गाउँपालिका वडा नं ४ का अध्यक्ष ख्याम नारायण पौडेल लगायतका स्थानिय जनप्रतिनीधिहरूको उपस्थिती रहेको थियो।












समापन कार्यक्रमको उद्घाटन सत्रमा नेपाल स्काउट सिद्धार्थ माध्यमिक विद्यालय बाट स्काउट लिडर शोभाकान्त शर्माको नेतृत्वमा आउनु भएका स्काउटहरुले स्काउट ड्रिल प्रदर्शन गर्नु भएको थियो। क्लबका अग्रज अभिभावक पूर्ण बहादुर गुरुङज्यूको नेतृत्वको तमु समाज फेदीखोलाका बुबा आमाहरूले लोप हुन लागेको सुनिमाया भाका प्रस्तुत गर्नु भएको थियो साथै स्थानीय कलाकारहरु आफ्नो प्रस्तुति राख्नुका साथै नृत्य प्रस्तुत गर्नुभएकाे थियो।

फेदीखाेला गाउँपालिकामा रहेका बैंक तथा वितिय संघ सस्था , विभिन्न आमा समुह, कल्बहरू , पाेखरा फेदीखाेला सम्पर्क समाज, पाेखरामा कर्मथलाे बनाएर बस्नुभएका फेदीखाेलाबासी युवा व्यवसायी देश विदेशमा रहनुभएका आफ्नाे जन्मभुमिलाइ माया गर्ने शुभचिन्तकहरूले आर्थिक तथा भौतिक सहयोग प्रदान गरेर मेलालाई भव्य रूपमा सफल पार्न ठूलाे याेगदान गर्नुभएकाे कार्यक्रम आयाेजकले जनाउनुभयाे ।
.जिल्ला स्तरीय पुरूष भलिबल प्रतियोगिताका लागि १० खेलाडि टिम दर्ता भएका थिए । कार्यक्रम समापनका दिन सेमिफाइनल तथा फाइनल खेलहरू भएकाे थियाे । जिल्ला स्तरीय पुरूष भलिबल प्रतियोगितामा भूपू गाइज, मट्टीखान प्रथम भएकाे थियाे भने नरे सोल्टी टिम फेदीखोला दाेस्राे भएकाे थियाे । भलिबल प्रतियोगितामा प्रथम हुनेलाइ १ लाँख ११ हजार १ सय ११ पुरस्कार , दाेस्राे हुनेलाइ ७१ हजार १ सय ११ पुरस्कार , मेडल, ट्रफी ,सम्मान पत्रसहित अविर लगाएर कार्यक्रमका प्रमुख तथा विशिष्ट अतिथिद्वारा पुरस्कार वितरण गरिएकाे थियाे ।




मेलाको अर्को आकर्षण छेलो फाल्ने प्रतियोगितामा फेदीखोला गाउँपालिका वडा नं २ बेसारे निवासी प्रवेश गुरुङ विजयी हुनु भएकाे थियाे ।


कार्यक्रममा ख्याति प्राप्त राष्ट्रिय कलाकारहरु शंकर विरही गुरुङ, श्याम राना, दुर्गा गुरुङ र माया गुरुङलगायतले आफ्ना प्रस्तुतिका साथ दर्शकहरुलाई भरपूर मनोरञ्जन प्रदान गर्नु भएको थियो। कार्यक्रमको सञ्चालन कुशल कार्यक्रम सञ्चालिका बालकाशी गुरुङले गर्नुभएको थियो।




