काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भैरहवा पुग्नुभएकाे छ । उहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भैरहवा पुग्नुभएकाे हाे । बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि अदालत हाजिर हुन उहाँ मंगलबार भैरहवा जानुभएकाे हाे । बुद्ध एयरको विमानमार्फत मंगलबार दिउँसो उहाँ भैरहवा पुग्नुभएकाे हाे ।

भैरहवास्थित होटल मेरि गोल्डमा लामिछानेले पार्टीका कार्यकर्तासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उहाँ भैरहवाको देवकोटा चोकस्थित मेरिगोल्ड होटलमा बास बस्ने रास्वपा रुपन्देहीका अध्यक्ष डा. बुद्धि प्रसाद शर्माले जानकारी दिनुभयाे । रास्वपा स्रोतका अनुसार भोलि (बुधबार) उहाँ अदालत हाजिर हुनुहुनेछ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख रञ्जीतसिंह राठौरले लामिछाने भोलि बुधबार आफैं अदालतमा उपस्थित हुने बताउनुभयाे ।

लामिछाने पोखराको सूर्यदर्शन सहकारीमा जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा हुनुभएकाे थियाे । लगत्तै उनीविरुद्ध कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा परेको मुद्दामा बयान दिन काठमाडौं जिल्ला अदालत हाजिर हुनुभएकाे थियाे । काठमाडौंमा पनि उहाँ ६० लाख रकम धरौटी बुझाएर रिहा हुनुभएकाे थियाे ।
लामिछानेविरुद्ध बुटवलको सुप्रीम सहकारीको बचत ठगी आरोपमा आइतबार रुपन्देही अदालतमा पूरक दर्ता भएको थियो ।लामिछाने, छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र शुरू मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

लामिछाने र पूर्व डीआईजी समेत रहेका जोशीसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराध कसुरमा पूरक र गितेन्द्रबाबु राई जीबीसहित १७ जनालाई थप कसुर र बिगो थपसहितको मुद्दा दर्ता भएको हो । पूरक र थप अभियोगसहित सुप्रिम सहकारीको रकम अपचलनमा संलग्न देखिएका ४२ जना प्रतिवादीविरुद्ध मुद्दा दर्ता भएको हो । लामिछाने सँग ४ करोड बढी विगो माग गरिएको छ ।