काठमाडौं I संघीय संसद् सचिवालयले सूचना जारी गर्दै चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित भएको जनाएको छ।
सचिवालयद्वारा जारी सूचनामा सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा २७ अनुसार थुनामा रहेको अवधिभर र दफा २२ बमोजिम मुद्दा दायर भएको अवस्थामा, मुद्दाको किनारा नलागेसम्म कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवकलाई स्वतः निलम्बित गरिएको मानिने प्रावधानका आधारमा यो सूचना प्रकाशित गरिएको उल्लेख गरिएको छ।
हिजो कास्की जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध सम्पत्ति शुद्धिकरण, संगठित अपराध र सहकारी ठगीसम्बन्धी तीन वटा मुद्दा दायर गरेको थियो।
नेपालको संविधानको धारा १०३ अनुसार प्रतिनिधि सभाका कुनै सदस्य फौजदारी अभियोगमा पक्राउ परे सोको जानकारी तत्काल सभामुखलाई दिनुपर्ने प्रावधान रहेको छ। सोहीअनुरूप कास्की प्रहरीले आइतबार संघीय संसद् सचिवालयलाई पत्र लेख्दै मुद्दा दर्ताको जानकारी गराएको थियो।
लामिछानेलाई गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरिएको थियो। त्यसबेलादेखि नै उनलाई जिल्ला प्रहरी कार्यालयले हिरासतमा राखी अनुसन्धान गरिरहेको छ।
उक्त प्रकरणले राष्ट्रिय स्वतन्त्र पार्टी र लामिछानेको राजनीतिक भविष्यमा कस्तो प्रभाव पार्ने हो, त्यसतर्फ सबैको ध्यान केन्द्रित छ।
![](https://samacharpati.com/wp-content/uploads/2024/12/Samsad-sachiwalaya-1-661x1024.jpg)