श्रावण र पौष दुवै महिनाको शुक्ल पक्षमा पर्ने एकादशी
पौष शुक्ल पक्षमा पर्ने एकादशीलाई पनि पुत्रदा एकादशी भनिन्छ । श्रावण र पौष दुवै महिनाको शुक्ल पक्षमा यस एकादशी पर्दछ । पद्म पुराण अनुसार सांसारिक सुख समृद्धि तथा पुत्र प्राप्तिका लागि पुत्रदा एकादशीको व्रत बस्ने गरिन्छ । सन्तान नभएका सबैले पुत्रदा एकादशीको व्रत लिनु फलदायी हुने धार्मिक विश्वास रहेको छ ।
व्रतकथा
धर्मशास्त्रहरू अनुसार प्राचीन कालमा भद्रावतीपुरी नगरमा राजा सुकेतुमानले राज्य गर्दै आएका थिए । तर ती राजाका सन्तान भने थिएनन् । राजा निसन्तान भएका कारण राजपरिवारमा चिन्ता थपिएको थियो । राजा सुकेतुमानका पिता समेत राजकाजको जिम्मेवारी सुम्पने उत्तराधिकारी नभएका कारण चिन्तित बन्दै गएका थिए । दिन बित्दै जाँदा एक दिन राजा सुकेतुमान घोडा चढी जङ्गल डुल्दै जाने क्रममा घना जङ्गलभित्र पुगे । जङ्गलको धेरै भित्र पुगेका कारण उनलाई थकाई र तिर्खा लागेको थियो । पानीको खोजीमा उनी झनझन् जङ्गलभित्र पुगे । निकै पर उनले पानीको सरोवर देखे तर त्यहाँ ऋषि मुनिहरू आश्रम बनाई वेद पाठ गर्दै बसेका थिए । घोडाबाट उत्रिएर राजा सुकेतुमानले सरोबरको पानी पिएपछि ऋषि मुनिहरूलाई नमस्कार गरे ।
राजाले सरोवरमा एकत्रित भएर बस्नुको कारणबारे ऋषि मुनिहरूसँग सोधे । ऋषि मुनिहरूले पनि पुत्रदा एकादशी आउन लागेकाले स्नानका लागि भेला भएको जवाफ दिए । राजाले पुत्र दा एकादशीको व्रत बारे ऋषि मुनिहरूसँग जिज्ञासा राख्दा ऋषि मुनिहरूले पुत्र तथा सन्तान प्राप्तिका लागि यस एकादशीको व्रत अनिवार्य भएको बताइदिए । राजाले पनि सबै विधि पुरा गरी पुत्रदा एकादशीको व्रत बसे । फलस्वरूप उनलाई पुत्र प्राप्ति भएको पौराणिक कथा अनुसार आज पनि पुत्रदा एकादशी व्रतको माहात्म्य महत्त्वपूर्ण मानिन्छ ।
व्रत विधी
यस एकादशीको व्रत बस्नका लागि अघिल्लो दिन अर्थात् दशमीकै दिनदेखि लसुन, प्याज तथा मांसाहारी भोजन त्याग्नु पर्दछ । एकादशीका दिन बिहानै उठेर स्नान गरी शुद्ध भई व्रत बस्नु पर्दछ । यस दिन भगवान् विष्णुको बाल गोपाल रूपको पूजा गर्ने गरिन्छ । बाल गोपाल विष्णुको प्रतिमा स्थापना गरी पञ्चामृतले स्नान गराई धूप दीप नैवेद्य सहितले पूजा गरिन्छ भने नरिवल, पान, सुपारी, ल्वाङ जस्ता प्राकृतिक फलफूलहरू चढाइन्छ । एकादशीको भोलिपल्ट द्वादशीका दिन विष्णुलाई अर्घ्य दिएर व्रत र पूजा समापन गरिन्छ ।