नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै आफैँले आफूलाई सफल घोषणा गरेर संसद र जनता झुक्याउने दिन अब नरहेको बताउनुभएको छ ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले आफैँ आफ्नो पीठ थप्थप्याएर आफैँले आफूलाई प्रमाणपत्र दिएर आफैँले आफूलाई सफल घोषणा गरेर संसद र जनता झुक्याउने दिन नरहेको बताउनु भयो । उहाँले नियमित कामका स्वाभाविक प्रगतिलाई सरकारको सफलताको रुपमा रंगरोगन गर्नुभन्दा राष्ट्रका दीर्घकालीन आवश्यकताका बारेमा संसदमा छलफल गर्न सुझाव दिनुभयो । उहाँले बनिबनाऊ पूर्वाधारको जस खोसाखोस गर्न छाडेर नयाँ पूर्वाधारका चुनौतीमाथि छलफल शुरु गर्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीलाई मेरो अनुरोध छ, आफैँ आफ्नो पीठ थप्थप्याएर आफैँले आफूलाई प्रमाणपत्र दिएर आफैँले आफूलाई सफल घोषणा गरेर संसद र जनता झुक्याउने दिन अब छैनन् । नियमित कामका स्वाभाविक प्रगतिलाई सरकारको सफलताको रुपमा रंगरोगन गर्नुभन्दा राष्ट्रका दीर्घकालीन आवश्यकताका बारेमा संसदमा छलफल चलाउनुहोस्, हामी साथ दिन्छौं । बनिबनाऊ पूर्वाधारको जस खोसाखोस गर्न छाडेर नयाँ पूर्वाधारका चुनौतीमाथि छलफल शुरु गरौं, हामी सहभागी हुन्छौं । संसदमा मिथ्यांक र आत्मरतिबाट कसैलाई आत्मसन्तोष मिल्ला, तर देशको भलो हुँदैन ।’उहाँले संसदमा मिथ्यांक र आत्मरतिबाट कसैलाई आत्मसन्तोष मिले पनि देशको भलो नहुने बताउनु भयो ।
—न्युज एजेन्सी नेपाल