प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेल को शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानविन गर्न गठित समितिले दूरसञ्चार प्राधिकरणको अधिकारमाथि कुनै हस्तक्षेप नगर्ने बताउनुभएको छ ।
मंगलवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै उहाँले समितिले दूरसञ्चार प्राधिकरणको नियमाकिय अधिकारमा कुनै हस्तक्षेप नगर्ने बताउनुभएको हो । सांसदहरुले एनसेल छानविन प्राधिकरण आफैँले गर्नसक्ने भएपनि समिति बनाइएको भन्दै समितिको काम, कारबाहीप्रति आशंका व्यक्त गरेका थिए । जवाफमा प्रधानमन्त्री दाहालले एनसेल प्रकरणमा प्राधिकरणले प्रचलित कानुन बमोजिम भए÷नभएको सम्बन्धमा नियमन र कारबाही गर्ने बताउनु भयो । प्राधिकरणलाई कारबाही गर्न कसैले नरोकेको र समिति बनाएर रोक्ने मनशाय पनि नराखिएको उहाँले स्पष्ट पार्नुभयो । उहाँले एनसेल खरिद, बिक्री प्रक्रियामा राजश्व छलि, नेपाल सरकारमा स्वामित्व हस्तान्तरणका सम्बन्धमा कानूनी व्यवस्थाको उल्लंघन भएको हो कि भन्ने चासो रहेको उल्लेख गर्दै यसबाट नेपालको समग्र दूरसञ्चार क्षेत्रको विकास र वैदेशिक लगानीमा पार्ने प्रभावका बारेमा छुट्टै अध्ययन गर्नुपर्ने आवश्यकता महशुस भएकोले समिति बनाइएको बताउन भयो ।
उहाँले भन्नुभयो – ‘नियामक निकाय हुँदाहुँदै सरकारले किन छुट्टै समिति बनाउनुपर्यो भन्नेकुरा माननीय सदस्यहरुले राख्नुभएको छ, यसमा म छोटोमा म के मात्रै भन्छु भने नियामक निकायले नियमन गर्ने सम्बन्धमा छुट्टै कानूनी व्यवस्था छ । मलाई लाग्छ, सबैलाई यो कुराको जानकारी छ । सोअनुसार नेपाल दुरसञ्चार प्राधिकरणले प्रचलित कानून बमोजिम भए नभएको सम्बन्धमा नियमन र कारबाही गर्ने नै छ । उसलाई त्यसो गर्न कहीँ यसले रोकेको पनि छैन । रोक्ने मनशाय राखेको पनि छैन । तर यो खरिद, बिक्री प्रक्रियामा राजश्व छलि, नेपाल सरकारमा स्वामित्व हस्तान्तरणका सम्बन्धमा कानूनी व्यवस्थाको उल्लंघन भएको हो कि भन्ने आम चासो रहेको र यसबाट नेपालको समग्र दूरसञ्चार क्षेत्रको बिकास र वैदेशिक लगानीमा पार्ने प्रभावका बारेमा छुट्टै अध्ययन गर्नुपर्ने आवश्यकता महशुस भएकोले जुन दूरसञ्चार प्राधिकरणले मात्रै गर्नसक्ने स्थिति होइन । यसो भएकोले यो समिति बनाइएको हो । यस समितिको काम, कारबाहीबाट नियामकको नियमाकिय अधिकारमा कुनै हस्तक्षेप र असर पार्दैन । यो कुरा सचेत रुपले गरिएको छ । त्यसकारण नियामकले आफ्नो भुमिका कानूनतः पूरा गर्छ ।’
उहाँले छानविन समितिको संयोजक टंकमणि शर्मा उपयुक्त पात्र भएको पनि बताउनु भयो ।