काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश विनोद शर्माको संसदीय सुनुवाइ सुरु हुँदैछ । संसदीय सुनुवाइले १० दिनको म्याद दिएर उजुरी आह्वान गरे पनि एउटा पनि उजुरी नपरेपछि सिधै सुनुवाइ हुन लागेको हो ।
ओखलढुंगा घर भएका ६२ वर्षीय शर्मालाई यही भदौ १० गते बसेको न्याय परिषदको बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । १५ भदौमा बसेको सुनुवाइ समितिको बैठकले १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको थियो ।
गत वर्ष भदौमा पनि उहाँको नाम सिफारिस भएको थियो । त्यतिबेला संसदीय सुनुवाइ हुन नसकेका कारण उहाँको न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको थिएन । तर यही भदौ १० गते बसेको न्यायपरिषद् बैठकले उनलाई पुनः न्यायाधीशमा सिफारिस गरेको थियो ।
अब संसदीय सुनुवाइ प्रक्रिया पूरा भएर समितिले उहाँको नाम अनुमोदन गरेपछि नियुक्ति प्रक्रिया अघि बढ्ने छ ।