पाल्पा । राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्ग आज वारपार छेडिँदै छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सुरुङमार्ग छिचोलिने भएको हो । प्रधानमन्त्री ओली आज बिहान पाल्पाको बगनासकाली गाउँपालिका भवन र तिनाउ गाउँपालिकाको दोभानमा नवनिर्मित प्रशासकीय भवन उद्घाटन गरिसकेपछि सुरुङमार्ग छिचोल्ने कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको छ ।
कुल एक हजार एक सय २६ मिटर लामो सुरुङमा मुख्य सुरुङको खन्न बाँकी रहेको साढे एक मिटर भाग आज छिचोलिने आयोजनाका प्रमुख कृष्णराज अधिकारी जानकारी दिनुभयाे । सुरुङ छिचोलिएपछि अन्य कामलाई तीव्रता दिइने उहाँले बताउनुभयाे ।
सुरुङमार्गको तीन वटा सहायक सुरुङ यसअघि नै छिचोल्ने काम सकिएको छ । जसमा बाइपास सुरुङ ३ को गत भदौ २६ मा, बाइपास सुरुङ १ को असोज ४ मा र बाइपास सुरुङ २ को पुस ७ मा ‘ब्रेक थ्रु’ भएको थियो । बाइपास सुरुङहरु क्रमशः १५१, २६१ र ३३० मिटर लामा छन् ।
मुख्य सुरुङ ‘ब्रेक थ्रु’ गरेपछि सुरुङभित्रको भुइँ र भित्तामा बिजुलीबत्ती जडान लगायतका कामलाई तीव्रता दिइने प्रमुख अधिकारीले बताउनुभयाे । यस्तै गाडी गुड्ने क्षेत्र निर्धारण गरेर ‘पेभमेन्ट’ ढलानको काम अघि बढ्ने आयोजनाले जनाएको छ ।