पोखरा । राष्ट्र गौरव अभियानले पोखराको पृथ्वीचोकमा राष्ट्रनिर्माता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको सालिक जुनसुकै हालतमा राखेर छोड्ने घोषणा गरेको छ । शाहको ३०२ औं जन्मजयन्तीको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै अभियानका संयोजक सिरोज विजय कोइरालाले लखन थापाको सालिक अन्य ठाउँमा स्थानान्तरण गरेर पृथ्वीचोकमा
पृथ्वीनारायण शाहको सालिक राख्ने घोषणा गर्नुभएकाे हाे ।
उहाँले कम्तीमा २५ फिटदेखि ५० फिटसम्मको मूर्ति राख्ने दाबी गर्नुभयाे । पृथ्वीचोकमा पृथ्वीनारायणको कम्तीमा २५ फिटदेखि ४०÷५० फिटको सालिक राख्ने घोषणा गर्दछु,’ उहाँले भन्नुभयाे, पोखराका मेयर साबलाई हामी सम्झाउने छौं । यत्रो देश दिनेलाई के दिनुपर्छ हामी उहाँलाई बुझाउने छौं । यहाँभन्दा ठूलो सालिक कहीँ हुने छैन ।’
कुनैबेला पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको सालिक संरक्षण गर्न नसक्ने जिल्ला प्रशासन कार्यालयको नेतृत्व आफूहरूले पोखरामा गरेको कार्यक्रम देखेर झस्किएको र थ्रेट महशुस गरेको कोइरालाले सुनाउनुभयाे । अभियानका प्रवक्ता अरूण गिरीले पृथ्वीचोकमा पृथ्वीनारायण शाहको सालिक राखेर उहाँको योगदानको सम्मान गरिनुपर्ने बताउनुभयाे । लखन थापाको सालिक पोखरा महानगरपालिकाले स्थानान्तरण नगरे आफूहरूले नै गर्ने उहाँको भनाइ थियो । कार्यक्रममा राजनीतिज्ञ रवीन्द्र मिश्र, राजनीतिक विश्लेषक सौरभ, इतिहासविद् हरिप्रसाद सोडारी लगायतले बोल्नुभएकाे थियाे ।