उदयपुर । ७३ औँ प्रजातन्त्र दिवसमा आइतबार उदयपुरका चार कैदी रिहा भएका छन्। नेपाल सरकारको मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट माफिमिनाह दिने व्यवस्था अनुरूप उदयपुरमा बहुविवाहका तीन जना र सवारी ज्यानका एक गरी चार कैदी रिहा भएका हुन्।
यसरी रिहा हुनेहरूमा सवारी ज्यान मुद्दाका त्रियुगा नगरपालिका ८ का २९ वर्षीय विशाल खड्का र बाँकी तीन जना बहुविवाह मुद्दाका कटारी नगरपालिका ४ का ३५ वर्षीय वुद्धविर दनुवार, वडा नं ७ का २७ वर्षीय सगुन दनुवार र चौदण्डिगढी नगरपालिका-९ का ४० वर्षीया कुश्मदेवी चौधरी रहेका छन्।
न्यूनतम ५० प्रतिशत कैदभुक्तान गरिसकेका कैदीलाई चालचलन राम्रो भएको खण्डमा जिल्ला कारागारको सिफारिसमा प्रमुख जिल्ला अधिकारीले कारागार व्यवस्था विभागलाई सिफारिस गर्ने र विभागले गृह मन्त्रालय हुँदै मन्त्रिपरिषदमा पेस गर्ने कानुनी व्यवस्था छ।
चारै जना कैदीले ५० प्रतिशतभन्दा बढी कैद भुक्तान गरिसकेको र कारागारभित्र बस्दाको बखत चालचलनसमेत राम्रो देखिएकाले बाँकी कैद कट्टा (सजाय माफी) हुने गरी सिफारिस गरेअनुरूप रिहा भएको जेलर डिगमबहादुर कार्कीले बताउनुभयाे।