म्याग्दी । कतारकी राजकुमारी आश्मा अल्थानी अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि आज म्याग्दी आउनुभएकाे छ। आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल अन्नपूर्ण गाउँपालिका -४ मा अवस्थित छ। इलाईट ट्रेकिङ कम्पनीमार्फत उ अन्नपूर्ण हिमाल आरोहण गर्न आउनुभएको हाे।
काठमाडौंबाट अल्थानीको आरोहण टोलीका सदस्य सिम्रिक एयरको हेलिकप्टरमार्फत अन्नपूर्ण -३ दानामा आउनुभएकाे छ।आठ हजार मिटर अग्ला विश्वका १४ हिमाल आरोहण गरेर कीर्तिमान बनाएका निर्मल पुर्जा (निम्स) अल्थानीको आरोहण टोलीको नेतृत्व गर्नुभएकाे छ ।
‘हाम्रो आरोहरण टोलीको दुई जना सदस्य पोखराबाट सडक मार्ग भएर आउँदै छन्। राजकुमारी र म दुई दिन मेरो जन्मथलो दानामा रहनेछौँ,’ पुर्जाले भन्नुभयाे ”बन्दोबन्दीका सामग्रीहरू हेलिकप्टरमार्फत अन्नपूर्ण आधार शिविर पुगिसकेको छ। त्यहाँ पुगेका हाम्रा सहयोगीले तयारी थालिसकेका छन्।’
यही मार्च महिनामा अन्नपूर्ण आरोहण गर्ने टोलीको लक्ष्य छ। राजकुमारी अल्थानीले यसअघि सगरमाथा, धौलागिरी, कञ्चनजंगा, लोहोत्से, आमादम्बा, मनास्लु, केटु लगायतका हिमालको आरोहण गरिसकेका छन्। कीर्तिमानी आरोही पुर्जा र राजकुमारी अल्थानीलाई दानाका जनप्रतिनिधि र बासिन्दाले भव्य स्वागत गरेका छन्।
नागरिक अभिनन्दन् र बाजागाजासहित गाउँ परक्रमा गराएर सम्मानपत्र प्रदान गरेको अन्नपूर्ण-३ का वडा अध्यक्ष रमेश पुर्जाले बताउनुभयाे। ‘दाना, म्याग्दी र नेपाललाई विश्वमा चिनाउन योगदान गर्नुभएको हुँदा निर्मल पुर्जालाई सम्मान गरेका हौं,” उहाँले भन्नुभयाे ‘निर्मल विश्वकै साहसिक युवा हो।’
दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले कतारी राजकुमारीको दाना भ्रमण र अन्नपूर्ण हिमाल आरोहणका लागि भएको आगमनले यस क्षेत्रको पर्यटन विकासमा सहयोग पुग्ने बताउनुभयाे।
ओझेलमा परेको म्याग्दीको अन्नपूर्ण आधार शिविरको प्रचारप्रसारमा सहयोग पुग्ने उहाँको भनाइ छ। सन् १९५० को जुन ३ मा फ्रान्सेली नागरिक मौरिज हर्गोजले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा पहिलो पटक पाइला टेक्नुभएकाे थियाे।
अन्नपूर्ण आठ हजार मिटर भन्दा अग्लो पहिलो पटक आरोहण भएको हिमाल हो। नारच्याङका अगुवाहरूले २०६८ मा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमापर्ने तथ्यसहित मिस्ट्री खोलाको किनारै किनारै आधार शिविर जोड्ने पदमार्ग पहिचान गरेका थिए।
annapurnapost