काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नुभएकाे छ। बिहीबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न सभापति देउवा बालुवाटार पुग्नुभएकाे हाे।
भेटमा राष्ट्रपति निर्वाचनको बारेमा छलफल भएको छ। भेटका क्रममा कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार बन्ने संभावित व्यक्तिको बारेमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ। नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाम अघि सारेको छ।
बुधबार बेलुका पनि प्रधानमन्त्रीसँग सभापति देउवासहितका कांग्रेसका नेताहरूले राष्ट्रपति चयनका विषयमा छलफल गर्नुभएकाे थियाे। एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डसँगको भेटमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाउन प्रस्ताव गर्नुभएकाे थियाे।
प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाले निर्वाचनअघिको पाँच दलीय गठबन्धनलाई व्युत्याउने कसरत गरिरहनुभएकाे छ। पुस ११ गते प्रधानमन्त्री बन्नुभएका दिन प्रचण्डले राष्ट्रपति एमालेलाई दिने सहमति गर्नुभएकाे थियाे। तर,सरकारलाई कांग्रेसले समर्थन दिएकाले उसको समेत सहमतिमा राष्ट्रपति बनाउनुपर्ने प्रधानमन्त्री प्रचण्डले अडान राख्दै आउनुभएकाे छ।
दलहरूका आ-आफ्नै अडानका कारण राष्ट्रपति उम्मेवारबारे अझैं टुंगो लागेको छैन्। फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि शनिबार मनोनयन दर्ताको कार्यतालिका छ।