काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय निजामती सेवा ऐन चालु संसद अधिवेशनबाटै पारित गर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री दाहालले संघीयता कार्यान्वयनको कामलाई गति दिनका लागि पनि सरकारले सो विधेयकलाई चालु संसद अधिवेशनबाटै पारित गरेर कार्यान्वयनमा लैजानका लागि ध्यान दिएको पनि स्पष्ट पार्नुभयो ।
राष्ट्रिय खेलकुद परिषदले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले संघीय निजामती सेवा ऐन र त्यससँग सम्बन्धित अन्य ऐनहरु नहुँदा अहिले संविधानले अंगीकार गरेको मर्म र भावना अनुसार संघीयता कार्यान्वयन नभएकाले अब सो ऐनहरु बनाएर अगाडि जाने कुरामा सरकार दृढ रहेको समेत बताउनु भयो ।
प्रधानमन्त्री दाहालले संघीय निजामती सेवा ऐन अन्तिम चरणमा रहेको र अव त्यसलाई छिट्टै संसदमा पेस गर्ने पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामी अहिले जसरी तीन तहको सरकारमा छौं । संविधानले मुलभुत रुपमा तिनको क्षेत्राधिकारको बारेमा किटेको छ ।
तर, त्यस अनुसारको ऐन बन्न नसक्दा संघीय निजामती ऐन, कर्मचारी समायोजनसँग सम्बन्धित सबैभन्दा महत्वपूर्ण ऐन हो । त्यस्तै अरु पनि ऐनको व्यवस्था समयमा हुन नसक्दा संघीयता कार्यान्वयनको विषय अघि जसरी उहाँ उठाउनु भयो नि खेलकुद क्षेत्रमा मात्रै होइन अन्य क्षेत्रमा पनि संविधानले अंगीकार गरेको मर्म र भावना अनुसार जान सकेको छैन ।
म यहाँहरुलाई के कुरा स्पष्ट गर्न चाहन्छु भने अहिलेको सरकारको ध्यान चाहीँ संघीय निजामती ऐन बनाउने र अन्य समायोजनसँग सम्बन्धित ऐनहरु पनि बनाएर अगाडि जाने कुरामा दृढ छ ।
संघीय निजामती ऐन अन्तिम चरणमा छ । मेरो कोशिस छ–यही सदनमा यसलाई प्रश्तुत गर्ने र त्यसलाई पारित गरेपछि अहिलेका धेरै अन्यौलहरु समाप्त हुन्छन । र, एउटा नयाँ गति संघीयता कार्यान्वयनले लिन्छ ।
हामीले जस्तो सोचेको हो, सिंहदरबारलाई जनताको घरदैलोमा भन्ने जे सोचिएको हो, त्यो चीज कार्यान्वयन हुन सक्छ ।’