प्रधानमन्त्री पुष्पकमल दाहालले आफू सोचेजस्तो सफल हुन नसकेको स्वीकार गर्नुभएको छ । नेपाल मगर संघले सोमवार माघी पर्वको अवसर पारेर काठमाडौंको टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले आफू सोचेजस्तो सफल हुन अझै नसकेको बताउनुभएको हो । प्रधानमन्त्री दाहालले पूर्वी नेपाललाई किराँत प्रदेश बनाउने आफ्नो लक्ष्य पनि निर्वाचनमा पार्टीको हैसियत कमजोर हुँदा पूरा हुन नसकेको बताउनु भयो । उहाँले नेपालका प्रथम शहीद लखन थापालाई राष्ट्रिय विभूति बनाउने मागप्रति आफू सहमत रहेको उल्लेख गर्दै त्यसमा पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । देशभक्तिको पक्षमा, जनताको परिवर्तनको पक्षमा, निरंकुशताका विरुद्ध लोकतन्त्रको पक्षमा बलिदान गर्ने सम्पूर्ण शहीदहरुप्रति उच्च सम्मान हुनुका साथै नेपालको क्रान्तिकारी आन्दोलन र राजनीतिक योद्धाहरुको पनि सम्मान हुने भएकाले पनि नेपालका प्रथम शहीद लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्ने कुरामा आफूले पहल गरिरहेको प्रधानमन्त्री दाहालको भनाई थियो ।
उहाँले भन्नुभयो, ‘संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्दै विविधतामा एकता हासिल गर्नु हाम्रो राष्ट्रिय कार्यभार हो । नेपालको लोकतान्त्रिक आन्दोलनमा मगर समुदायको भुमिका अग्रणी रहेको कुरा इतिहाससिद्ध छ । आज हामीले पहिचान र अधिकारसहितको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राजनीतिकमा रहेका छौं । त्यो प्राप्त गरेका छौं । त्यसको पृष्ठभूमिमा नेपालका प्रथम शहीद लखन थापालगायतका क्रान्तिकारी योद्धाहरुको बलिदान महत्वपूर्ण छ । यही विद्रोहको जगमा उठेको राजनीतिक चेतनाले राणा शासनको अन्त्य हुन सकेको हो । नेपालको क्रान्तिकारी आन्दोलनमा लखन थापाको विरासतलाई हामीले उच्च सम्मानका साथ स्मरण गर्नै पर्दछ । मलाई कठोर निरंकुशता बिरुद्ध लडन जनस्तरबाट उठेका एक क्रान्तिकारीलाई राष्ट्रिय विभूति बनाउनुपर्छ भन्ने मागप्रति सहमत छु । यसले देशभक्तिको पक्षमा, जनताको परिवर्तनको पक्षमा, निरंकुशताका विरुद्ध लोकतन्त्रको पक्षमा बलिदान गर्ने सम्पूर्ण सहिदहरुप्रति उच्च सम्मान हुनुका साथै नेपालको क्रान्तिकारी आन्दोलन र राजनीतिक योद्धाहरुको पनि सम्मान हुन्छ भन्ने मेरो विश्वास छ ।
यसका लागि नेपाल सरकारको तर्फबाट आवश्यक पहल भइरहेको र पहल गरिने विश्वास पनि म तपाईहरुलाई दिलाउन चाहन्छु । म जति सफल हुनुपर्ने हो, अझै भएको छैन । यो कुरा साँचो हो । मैले पूर्वलाई किराँत प्रदेश बनाउनु पर्छ भनेर अन्तिमसम्म प्रयास गरेकै हो । मैले निर्वाचनको क्रममा पनि किराँत भनेको एउटा जातिको मात्रै कुरा होइन । एउटा इतिहास, सभ्यता र संस्कृतिको कुरा हो भनेकै थिए । तर दुर्भाग्य हामो पार्टी निर्णय गर्नै हैसियतमा चुनावबाट आउन सकेन । परिणाम तपाई हामीले भोगिराखेकै छौं । त्यसकारण यो ऐतिहाक सन्दर्भमा पनि तपाईहरु सबैसँग अपिल गर्न चाहन्छु–जसले यो परिवर्तन ल्याउनका लागि सबैभन्दा बढी बलिदान ग¥यो, जसले यसको नेतृत्व गर्यो, त्यसको हात बलियो भएन भने दुर्भाग्यपूर्ण स्थिति आउन सक्दो रहेछ । यो कुरामा तपाईहरु सबैको ध्यानाकर्षण गराउन चाहन्छु । ’
प्रधानमन्त्री दाहालले संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको कामलाई सरकारले राष्ट्रिय कार्यभारको रुपमा अघि बढाएको पनि दोहोर्याउनु भयो ।