प्रधानमन्त्री पुष्पकमल दाहालले चालु आर्थिक वर्षको चैत्र महिनाभित्र दुध किसानहरुको वक्यौता रकम भुक्तानी हुने बताउनुभएको छ ।
मंगलवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबाट राष्ट्रको नाममा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री दाहालले कृषि क्षेत्रमा दिइँदै आएको अनुदानलाई उत्पादनमा आधारित भएर वितरण गर्ने योजना सरकारको रहेको समेत बताउनु भयो । उहाँले कृषि क्षेत्रको रुपान्तरणका लागि सरकारले २०८१ देखि २०९१ सम्मलाई कृषि क्षेत्रको लगानी दशकको रुपमा अघि बढाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘कृषिमा राज्यको लगानी घटेको छैन । तर, उत्पादकत्व बढेको पनि छैन । सहुलियत दरमा कृषि ऋण वास्तविक किसानसम्म पुर्याई कृषि क्षेत्रमा उपलब्ध गराईएका अनुदानहरुलाई यसै आर्थिक वर्ष भित्र एकीकृत गरी आगामी वर्षदेखि किसानको सूचिकरणको आधारमा अनुदान तथा वितरण गर्न शुरु गरिँदैछ । प्रमुख खाद्यान्न तथा तरकारीमा उत्पादनमा आधारित अनुदान प्रणाली लागू गरिँदैछ । दुध किसानहरुको बाँकि वक्यौता २०८० चैत्रभित्र भुक्तानी हुँदैछ । तर यी सुधारले मात्रै कृषि क्षेत्रमा हामीले फड्को मारिहाल्ने अवस्था छैन । कृषिमा अब परम्परागत ढंगले सोचेर पुग्ने अवस्था छैन । खाद्यन्न प्रणाली तथा कृषि क्षेत्रको रुपान्तरणको लागि कृषि क्षेत्रमा सरकारी, निजी, विकास साझेदार र सहकारी क्षेत्रको लगानी बढाउन कृषि क्षेत्रमा लगानी दशक २०८१ देखि २०९१ नै घोषणा गरी अगाडि बढ्ने सरकारको तयारी छ ।’प्रधानमन्त्री दाहालले वास्तविक किसानलाई कृषिमा सहुलियत ऋणको व्यवस्था गर्न सरकार लागि परेको पनि बताउनु भयो ।