प्रधानमन्त्री केपी शर्मा ओलीले हस्तकलाजन्य सामग्रीहरुको निर्यातमा बढी जोड दिनुपर्ने बताउनुभएको छ । शुक्रवार काठमाडौंमा नेपाल हस्तकला महासंघको ४४ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालले हस्तकलाजन्य सामग्रीहरुको निर्यात बढाउनका लागि आवश्यक काम गरिरहेको बताउनुभएको हो । उहाँले आन्तरिक बजारमा भन्दा निर्यातमा जोड दिन पनि हस्तकला महासंघलाई आग्रह गर्नुभयो । हस्तकला उद्योगलाई अघि बढाउन आफ्नो निर्वाचन क्षेत्रमा सिलाई, कपडाजन्य उद्योगहरु सञ्चालनका लागि सहयोग गरिरहेको बताउनु भयो । उहाँले हस्तकलाजन्य सामग्रीहरुले महिलालाई आत्मनिर्भर बनाउन, आय बढाउन र आत्मनिर्भरता बढाउन सहयोग पुग्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यसले आन्तरिक बजारलाई पनि लिएको छ । त्यो भन्दा बढी यसले निर्यातमा जोड दिनुपर्छ । निर्यातका लागि, निर्यात वृद्धिका लागि के गर्नुपर्छ त्यसमा सरकार ध्यान दिइरहेको छ । यसमा ध्यान दिने नै छ । यहाँहरुसँग भेट नहुँदा पनि हामीले कसरी हस्तकला उद्योगलाई अघि बढाउने भन्ने सन्दर्भमा मैले आफ्नो निर्वाचन क्षेत्रमा केही व्यवसायको रुपमा चलाउन खोजेको छु । कपडा उद्योग, साबन उद्योग, सिलाई उद्योग भयो । जसमा बढी महिलाहरु रोजगारी हुन्छन् । जसले गर्दा महिला सशक्तिकरण हुन्छ । महिलाको आय, महिलाको आत्मनिर्भरता बढ्छ । जसले सामाजिक उत्थानमा नै असाधारण योगदान गरेको छ ।’
प्रधानमन्त्री ओलीले नेपाल कलाको इतिहास बोकेको देश भएको बताउनु भयो । उहाँले कलाका लागि नेपाल प्रसिद्ध भएको उल्लेख गर्नुभयो । आयात प्रतिष्थापनका लागि उपभोग्य वस्तुहरुको उत्पादन स्वदेशमै गर्न सकिने बताउनु भयो ।
—न्युज एजेन्सी नेपाल