प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरुको कामलाई तिब्रता दिन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।
आईतवार साँझ सिंहदरबारमा सम्बन्धित मन्त्रालयका मन्त्री, सचिव र आयोजना प्रमुखहरुलाई बोलाएर उहाँले सो आयोजनामा देखिएका समस्या सुन्ने र चुप लागेर बस्ने काम नगर्न पनि सचेत गराउनु भयो । प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाका समस्याहरु समाधानका लागि आफू तयार रहेको उल्लेख गर्दै त्यसका लागि पहलकदमी लिन पनि सम्बन्धित निकायलाई निर्देश गर्नुभयो । उहाँले आयोजना प्रमुखहरुलाई अनावश्यक रुपमा काठमाडौं बोलाउने काम नगर्न र फिल्डमा नै बसेर काम गर्ने वातावरण बनाउन पनि मन्त्रीहरुको ध्यानाकर्षण गराउनु भयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘राष्ट्रिय गौरवको आयोजनाहरुको कहाँ समस्या छ, त्यो कुरा आयोजना प्रमुखहरुले मन्त्री, सचिवजीलाई बताउनु होला । मन्त्रीजी, सचिवजीहरुले मलाई बताउनु होला । समस्याहरु छन भन्ने सुन्यो सिद्धियो गर्ने होइन । समस्या छ भने समाधान पनि छ । त्यसको समाधान चाहियो । समाधान गर्नु पर्छ । नत्र भने आयोजना लम्बिएको लम्बिएकै जान्छ । आयोजनाहरु लटकिनु भएन । तिनको समाधान गरेर अगाडि बढाउनु प¥यो समस्याको समाधान गरेर । बजेट अभावका डरलाग्दो अवस्था आएका छन् । आयोजना प्रमुखहरुलाई काममा मात्रै काठमाडौं बोलाउने काम गर्नु पर्छ । फाईल अघि बढाउने नाममा दुःख दिनुहुँदैन । उहाँहरुलाई आवश्यक्ता अनुसार मात्रै बोलाउने काम गर्नुपर्दछ । काम गर्न दिनुपर्दछ ।’
सो अवसरमा प्रधानमन्त्री ओलीले गृह मन्त्रालयले सबै राष्ट्रिय गौरवमा आयोजनाहरुमा सुरक्षाको उचित व्यवस्था मिलाउनुपर्ने पनि बताउनु भएको थियो ।
—न्युज एजेन्सी नेपाल