बझाङ । प्रधानमन्त्री पुष्पकमल दाहालले बझाङ भूकम्प पीडितलाई राहत उपलब्ध गराउने घोषणा गर्नुभएकाे छ। भूकम्प प्रभावित क्षेत्र निरीक्षण गर्न बझाङ आइपुगेका प्रधानमन्त्री दाहालले भूकम्पबाट पूर्ण क्षति भएका घरका परिवारलाई अस्थायी आवास निर्माण गर्न ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गर्नुभएकाे हाे।
त्यस्तै भूकम्पपछि आएको पहिरोका कारण ज्यान गुमाएका परिवारलाई प्रधानमन्त्री दाहालले दुई लाख सहयोग घोषणा गर्नुभएकाे हाे। उहाँले भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहतस्वरूप परिवार संख्याको आधारमा मापदण्ड बमोजिम १५ देखि २० हजार तत्काल राहत खर्च व्यवस्था गरिने बताउनुभयाे।
त्यस्तै राहत सामग्रीहरू पाल, कम्बल, औषधि, खाद्यान्न, लत्ताकपडा, अपांगता भएका व्यक्तिलाई आवश्यक पर्ने सामग्रीहरूको व्यवस्थापन गरिने प्रधानमन्त्रीले घोषणा गर्नुभएकाे हाे। उहाँले आवश्यक सामग्री तीनै तहका सरकारको समन्वयमा व्यवस्था गरिने बताउनुभयाे।
उहाँले भूकम्पमा परी घाइतेहरूको निःशुल्क उपचारको प्रबन्ध मिलाउने र सरकारी कार्यालय, सामुदायिक भवन, स्कुलमा पुगेका संरचनाहरूको यथाशीघ्र पुनःनिर्माण गरिने बताउनुभयाे। गत मंगलबारका बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको थियो।